तपाईँ सुन्दै हुनुहुन्छः

यात्रु अभावमा सुकेटार विमानस्थलमा उडान भएन

ताप्लेजुङ। ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा असारदेखि उडान हुन सकेको छैन ।

वर्षात्मा मौसम खराबीका कारण उडान हुन नसकेको विमानस्थलमा अहिले यात्रु नहुँदा उडान नभएको हो । मौसम खुलेसँगै उडान गर्न सकिने भए पनि पछिल्लो पटक यात्रु नभएकाले उडान नभएको नेपाल वायुसेवा निगमका स्टेशन प्रमुख राजु कार्कीले बताउनुभयो । ‘असार, साउनमा मौसम खराबीले नियमित उडान भएन, अहिले उडानका लागि मौसम अनुकूल भए पनि एक÷दुईजना यात्रु फाट्टफुट्ट आउने गर्नुभएको छ, कम्तीमा ६÷७ जनासम्म नहुँदा घाटा बेहोर्नु पर्छ’–कार्कीले भन्नुभयो ।

यद्यपि चार÷पाँचजना सम्म यात्रु पाए घाटा बेहोरेर भएपनि उडान शुरु गर्ने मनस्थितिमा निगम रहेको उहाँले बताउनुभयो । सुकेटार विमानस्थलमा निगमको विमानले साताको सोमबार, बुधबार र शनिबार ताप्लेजुङ काठमाडौँ उडान गर्ने नियमित कार्यतालिका छ । यता निगमले विभिन्न कारण देखाउँदै नियमित उडान नगरेकाले भरपर्दो हुन नसकेको स्थानीयवासीको भनाइ छ ।

पटक–पटक टिकट काटेर विमानस्थलबाटै फर्कनुपर्ने बाध्यता रहँदै आएको भन्दै स्थानीयवासीले गाडी नै चढ्ने गरेका छन् । यो वर्ष असार ४ यता उडान हुन सकेको छैन । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button