तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा सात घरमा लुटपाट

रोशन तिवारी
पर्वत । पर्वतको जलजला गाउँपालिका वडा नं ५ लेकफाँटमा गएराती ७ वटा घरमा चोर पसेर लुटपाट गरेका छन् । अधिकाँश घरमा कोही नभएको अबस्थामा राती घर फोडेर झण्डै दुई लाख नगद र ६ तोला सुन चोरी गरेका हुन् ।

स्थानियबासीले दिएको जानकारी अनुसार जलजला ५ लोप्रेका तिर्थबहादुर पुनको घरबाट ६ तोला सुन र रु.२५ हजार नगद चोरी भएको छ भने लालमा अर्मजाको घरबाट रु. १ लाख ३१ हजार नगद चोरी भएको छ ।

सोही ठाउँका प्रेमबहादुर पुनको घरबाट रु.१२ हजार नगद, रामसिंह पुनको घरबाट रु. ९ हजार नगद तथा रिममाया पुनको घरबाट रु.८ हजार नगद चोरी भएको छ । स्थानिय लिलबहादुर पुर्जा र तुलबहादुर पुनको घरमा चाबी फोडेपनि कसैको धनमाल नहराएको स्थानियबासीले जानकारी दिएका छन । लालमा अर्मजाले कोदोको भकारीमा लुकाएर राखेको अबस्थामा रु.१ लाख ३१ हजार रुपैंया चोरी भएको छ ।

चोरी भएको समयमा अधिकाँश घरमा कोही पनि नभएको र कसैको गोठ तथा कोठामा सुतेको अबस्थामा घर फोडेर चोरी भएको छ । सोही रात लोप्रेको छिमेकी म्याग्दीको अन्नपुर्ण गाउँपालिका नाँगी गाउँमा पनि ९ घरमा चोरी भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button