तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको संविधान विश्वमै उत्कृष्ट : सुवासचन्द्र नेम्बाङ

भद्रपुर, झापा – संविधानसभाका सभामुख सुवासचन्द्र नेम्बाङले नेपालको संविधान विश्वमै उत्कृष्ट संविधान भएको दाबी गर्नुभएको छ ।

अहिलेको संविधान कुनै राजा–महाराजालाई साक्षी राखेर ल्याइएको नभई जनताले चुनेर पठाएका प्रतिनिधिको दुई तिहाई बहुमतले जारी गरेको हुनाले यो जनमुखी संविधान भएको र यसलाई विश्व समुदायले समर्थन गरेको पूर्व सभामुख नेम्बाङले बताउनुभयो ।

आज झापाको विर्तामोडमा आयोजित स्व. गौरीशंकर खड्का (राजेन्द्र) स्मृति प्रतिष्ठानको आठौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नेकपाको स्थायी कमिटी सदस्य नेता नेम्बाङले सबै जातजाति, भाषाभाषी, भूगोल, बर्गले अपनत्व ग्रहण गर्नसक्ने समावेशी चरित्रको संविधान विश्वमा कही नभएको उल्लेख गर्दै संविधानले सम्पूर्ण नेपाली जनताको भावना समेटेको बताउनुभयो ।

उहाँले वर्तमान संविधानको विरोध गर्नु भनेको जनताको हित नचिताउनु हो भन्दै संविधानको रक्षाका लागि सबै जनता एकताबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरुको संविधानसभाले पहिलो पटक संविधान जारी गरेको र नेकपाको नेतृत्वमा स्थायी प्रकृतिको सरकार रहेकोले समृद्ध राष्ट्र निर्माणको आधार तयार भइसकेको बताउनुभयो ।

पार्टी एकताको प्रसंगमा नेता नेम्बाङले पार्टी एकताको प्रक्रिया लगभग टुंगोमा पुगेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button