तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य जोखिम बढेपछि अमेरिकामा ई–चुरोट उत्पादनमा प्रतिबन्ध

वासिङ्टन – संयुक्तराज्य अमेरिकाले सुगन्धित ई–चुरोट (विद्युतीय चुरोट) को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । खासगरी किशोरहरुबीच निकै लोकप्रिय भइरहेको यस चुरोटले फोक्सोमा समस्या आउने गरेको अध्ययनहरुले देखाएका छन् ।

सुगन्धित ई–चुरोटको कुलतमा फसेका किशोर किशोरी युवावस्थामा पुगेपछि सूर्तिजन्य ई–चुरोट सेवन गर्नेतर्फ उत्प्रेरित हुन सक्ने देखिएको छ । पछिल्ला केही अध्ययनले सुगन्धित ई–चुरोटको सेवनकै कारण पनि बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ ।

ह्वाइट हाउसमा संवाददाताहरुसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र प्रथम महिला मेलानीया ट्रम्प ई–चुरोटको कुलतमा फसेका कारण फोक्सोको गम्भीर बिरामी भएका एक किशोरका बाबुआमाको कथा सुनेर निकै भावुक भएको बताउनुभयो ।

“हामी दुबैले ती किशोरको व्यथा पढेका छौं,” उहाँले भन्नुभयो । “हामीजस्तै धेरै मानिसले यो कथा पढेका छन्, र यसको सेवनबाट मानिसहरुको ज्यान गइरहेको छ ।”

ह्वाइट हाउसमा राष्ट्रपतिका साथ अमेरिकी खाद्य तथा औषधि विभाग (एफडीए) का कार्यवाहक प्रमुख नेड सार्पलेस र अमेरिकी स्वास्थ्यमन्त्री अलेक्स अजर पनि सहभागी हुनुहुन्थ्यो । ई–चुरोटको नियमन गर्ने एफडीए अमेरिकाको शक्तिशाली सरकारी निकाय हो । त्यस अवसरमा स्वास्थ्यमन्त्री अजरले आगामी साता ई–चुरोटका बारेमा नयाँ नियमहरु ल्याइने बताउनुभयो ।

सूर्तीको स्वाद भएका बाहेक अरु सबै किसिमका सुगन्धित ई–चुरोट बजारमा अब बेच्न पाइने छैन, उहाँले भन्नुभयो । उहाँले यसका लागि व्यवसायीलाई ३० दिनको समयावधि दिइने जानकारी दिनुभयो ।

\सन् २०१९ मै गरिएको एक अध्ययनमा माध्यमिक तहमा अध्ययन गर्नेमध्ये एक तिहाई विद्यार्थीले सुगन्धित ई–चुरोट सेवन गर्ने गरेको देखिएको छ ।

अधिकांश सेवनकर्ताले फलफूल, मेन्थोल वा मिन्ट (पुदिना)को स्वाद भएका ई–चुरोट रुचाएका थिए ।   तत्कालका लागि सूर्तीको स्वाद भएका ई–चुरोटमा प्रतिबन्धहरु नलगाए पनि २०२० को मेदेखि उत्पादकहरुले एफडीएबाट स्वीकृति लिनु पर्नेछ ।

उक्त समाचार सार्वजनिक भएलगत्तै अमेरिकामा च्याउ उम्रिएझैं फैलिएका ई–चुरोट उत्पादकमा छटपटी भएको छ । ग्रान्ड भ्यू रिसर्चका अनुसार सन् २०१८ मा विश्वभर १० अर्ब २० करोड मूल्य बराबरको ई–चुरोट उत्पादन भएको थियो ।

एफडीएको सर्वेक्षणमा समेटिएका ई–चुरोट सेवनकर्तामध्ये ४५० जनाभन्दा बढीले आफूहरु बिरामी परेको बताएका थिए । उनीहरुले आफूहरुलाई श्वास फेर्न कठिन भएको र छाती दुखेको जनाएका थिए । कतिपयलाई अस्पतालमा भर्ना गर्नु परेको थियो भने केहीलाई भेन्टिलेटरमा राख्नु परेको थियो ।

एकजना बिरामीको बेहोस भएका कारण अस्पतालमा भर्ना गरिएको र होस खुलेपछि उनको फोक्सो प्रत्यारोपण गर्नुपर्ने अवस्था देखिएको चिकित्सकहरुले बताएका छन् ।

अमेरिकी रोग नियन्त्रण केन्द्रले ई–चुरोटको सेवन तत्काल बन्द गर्न मानिसहरुलाई आग्रह गरेको छ । केन्द्रले यस चुरोटका बारेमा अनुसन्धान थालिएको जनाएको छ ।

संयुक्तराज्य अमेरिकामा सन् २००६ देखि नै ई–चुरोट बजारमा देखिएको हो । परम्परागत सूर्तीसेवनको तुलनामा यसलाई निकै सुरक्षित मानिएको थियो । तर विज्ञहरुले ई–चुरोट पनि स्वास्थ्यका लागि हानिकारक रहेको चेतावनी दिइरहेका थिए ।

परम्परागत चुरोटमा पाइने ७ हजार किसमका रसायन ई–चुरोटमा नहुने भएपनि केही तत्वहरु निकै हानिकारक पाइएका छन् । ई–चुरोटको धुवाँमा धातु समेत पाइएको अमेरिकी संसद कंग्रेसमा सन् २०१८ मा बुझाइएको एक प्रतिवेदनमा उल्लेख छ ।

स्वास्थ्य समस्या निम्त्याउन थालेको यस ई–चुरोटका बारेमा अहिले अमेरिकी समाज र राजनीतिक नेताहरुले पनि चासो दिन थालेको पाइएको छ ।

राष्ट्रपति ट्रम्पको घोषणालाई अमेरिकाका दुबै दलले समर्थन जनाएका छन् । रिपब्लीकन पार्टीका प्रभावशाली नेता मिट रम्नी र डेमोक्र्याट पार्टीका सिनेट ह्वीप डिक डरबिन सहित धेरै डेमोक्र्याट नेताले राष्ट्रपतिको कदमको स्वागत गरेका छन् ।

अमेरिकी अर्बपति व्यापारी एवं न्यूयोर्कका पूर्व मेयर माइकल ब्लूमबर्गले मंगलबार ई–चुरोट प्रतिबन्ध लगाउने अभियानमा सघाउन १६ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गर्नुभएको छ । उहाँले यस चुरोटलाई तत्काल प्रतिबन्ध लगाउन माग गर्नुभएको छ ।

अमेरिकी बजारमा प्रमुख ई–चुरोट उत्पादक कम्पनी जूलले गरिरहेको विज्ञापनप्रति पनि सर्वत्र आक्रोश व्यक्त गरिएको छ । जूलले सूर्तिसेवन भन्दा ई–चुरोट हानिकारक नरहेको जिकिर गर्दै विज्ञापन गरेको थियो ।
रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button