तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडामा देशकै ठूलो कृषि थोक बजार केन्द्र निर्माण हुने

मकवानपुर । कृषि उपजको बजारीकरणको समस्या समाधान गर्न तीन तहको सरकारको पहलमा करीब ७० करोड लागतमा हेटौँडामा देशकै ठूलो कृषि थोक बजार केन्द्र निर्माण हुने भएको छ ।

आधुनिक कृषि थोक बजार केन्द्र निर्माण भएपछि नेपाली किसानको उत्पादनको बजारीकरण र प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ ।

केन्द्र सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सम्पन्न गरिसकेको कृषि थोक बजार केन्द्रको निर्माणमा प्रदेश ३ सरकार र हेटौँडा उपमहानगरपालिका समेत लागि परेका छन् ।

प्रदेश ३ सरकार कृषि बजारलाई सकेसम्म चाँडो निर्माण सम्पन्न गराएर सञ्चालनमा ल्याउन चाहिरहेको प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले बताउनुभयो ।

हेटौँडा उपमहानगरले तरकारी बजार निर्माणको काम चाँडो शुरु गर्न आफ्नो तर्फबाट पहल गरिरहेको र काम अघि बढाउन प्रदेश र सङ्घीय सरकारलाई घच्घच्याई रहेको जनाइएको बताइएको छ ।

किसान महासङ्घका केन्द्रीय सदस्य महानन्द सापकोटाले बिचौलियाको समस्या समाधानका लागि सरकारको प्रत्यक्ष हस्तक्षेप गर्न सक्ने गरी तरकारी तथा कृषि उपज थोक बजार केन्द्र आवश्यक रहेको बताउनु भयो ।

हेटौँडा, ११ स्थित बजार केन्द्र निर्माणस्थलको सङ्घीय कृषि तथा पशुपक्षी विकासमन्त्री बलदेव खनाल र प्रदेश ३ का कृषिमन्त्री लामा लगायत कृषि विज्ञको टोलीले केही दिनअघि स्थलगत अवलोकन समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button