२०७९ साल जेठ ८ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

लोप हुँदै कुमालेको पेशा, सङ्कटमा तेली

रेडियो नेपाल २०७६ भदौ २१ गते १४:२१

नेपालगञ्ज / नेपालगञ्जको रामनगरमा बस्दै आएका सोनु कुमालले बनाएका माटाका सामग्रीहरुले आजभोलि यहाँका बजारमा स्थान पाउँदैनन् । उहाँले बनाएका माटाका पाला, दियो, खुत्रुकेलगायका सामग्रीमा पनि बिक्री नभएपछि बाक्लै धुलो जमिसकेको छ । नेपालगञ्जमा प्लाष्टिकका सामग्रीहरुको बढ्दो प्रयोगका कारण उहाँले माटाका सामग्री बनाउन पनि छाडिसक्नुभएको छ ।

सोनुलाई कामको फुर्सदसँगै अहिले जीविका चलाउन धौ–धौ पर्न थालेको छ । विवाह, व्रतबन्ध, कर्मकाण्डका लागि प्रयोग गरिने माटाका पाला र दियोको सट्टा आजभोलि मैनबत्ती प्रयोग हुनु, बढ्दो बैंकिङ कारोवारका कारण माटाका सामग्री बनाएर बिक्री गर्ने उहाँको पुख्र्यौली पेशा संकटमा पर्न थालेको छ । यस्तो पुख्र्यौली पेशालाई निरन्तरता नदिन बढ्दो आधुनिकीकरणसँगै प्रयोगले रोकेपछि वैकल्पिक पेशाबारे भने उहाँले केही सुझाउनु भएको छैन ।

सोनुजस्तै नेपालगञ्जका कुमाल समुदायका करीब दुई दर्जन घरपरिवार अहिले के गर्ने भन्ने अन्योलसँगै के खाने भन्ने सुर्तामा छन् । जीविकासँग जोडिएको पुख्र्यौली पेशा बढ्दो बजारीकरणसँगै सङ्कटमा पर्न थालेपछि कुमाल समुदायमा अन्योल छ । सोनु भन्नुहुन्छ, “कोही भारी बोकेर त कोही अर्काको घरमा भाँडा माझेर जीविका चलाउँदैछौँ, पढेका छैनौँ, जानेका काम यिनै हुन् ।”

प्लाष्टिक र आल्मुनियमका भाँडाको बढ्दो प्रयोग र भाँडा बनाउने माटो अभावका कारण सयौँ वर्षदेखि गर्दै आएको उनीहरूको पुख्र्यौली पेशा सङ्कटमा परेको हो । नफरित कुमाल भन्नुहुन्छ, “बजारमा प्लाष्टिकका भाँडाको बढ्दो प्रयोगकै कारण आपूmहरुको पुरानो पेशा सङ्कटमा परेको हो ।” उहाँका अनुसार भाँडा बनाउन प्रयोग गरिने माटोकोसमेत अभाव छ ।

टाढाबाट माटो ढुवानी गर्दा खर्च बढ्ने र भाडा बिक्री हुन छाडेपछि पेशा छाड्नुपर्ने अवस्थामा पुगेको नफरितको भनाइ छ । माटोका भाँडाकुँडा प्रायःजसो रातोमाटोबाट बनाउने गरिन्छ । “माटोबाट हाँडी, घैँटो, रक्सी पार्ने पैनी, खुत्रुके, फूल रोप्ने गमलालगायत सामग्री बनाइने भए पनि मेहेनतअनुसार नाफा नहुने भएपछि पेशा नै छाड्न थालेका छौँ”, नफरितले भन्नुभयो ।

हिजोआज आल्मुनियम र प्लाष्टिकका भाँडाको प्रयोग बढी हुने गरेपछि आफ्ना सामान बिक्री हुन छाडेको मनसरी कुमालको भनाइ छ । माटोका भाँडा फुटेर खेर जाने र त्यसलाई पुनः मर्मत गरी प्रयोगमा ल्याउन नसकिने भएकाले यसको सट्टा आल्मुनियम र प्लाष्टिकका भाँडाको प्रयोग बढ्दै गएको बताउँदै मनसरी भन्नुहुन्छ, “भएको सीप चल्न छाडेपछि रोजीरोटी नै गुम्यो । अर्को नयाँ पेशा गर्न पनि गाह्रो छ । परिवार पाल्न मुस्किल हुँदै गएको छ ।”

प्लाष्टिकका सामग्रीको प्रयोग बढ्न थालेपछि माटोको भाडा बिक्री गर्न कठिनाइ परेपछि हुनेखानेहरुको घरमा भाँडा माझेर पेट पाल्नुपरेको जगमती कुमालको दुःखेसो छ । परम्परागत संस्कृति, मेलापर्व, विवाह आदिमा प्रयोग हुने यस्ता सामग्री बेचेरै अहिलेसम्म जीविकोपार्जन गर्दै आएको समुदाय हो, कुमाले । विवाह, मेलापर्वमा समेत माटोका भाडा बिक्री गर्ने कुमालेहरु पछिल्लो समयमा बिक्री नभएपछि पेशाप्रति निराश भएका छन् ।

केही वर्षअघि पश्चिमका क्षेत्रमै बिक्री हुने सामग्रीहरु माटाका सामग्री लैजान घरमै आउने गरेको जगमतीले बताउनुभयो । माटोका सामग्री बनाउने पेशा नै भएकाले खेतीपाती कहिल्यै नगरेका कुमालेहरु बढ्दो बजारीकरणका कारण आफ्नो गाँस खोसिएकामा भन्दा पेशा नै लोप हुने स्थितिमा पुगेपछि चिन्तित बनेका छन् ।

सङ्कटमा तेली

पुर्खादेखि तेल पेलेर दैनिक जीवन निर्वाह गर्दैआएका तेलीको पेशा अहिले सङ्कटमा परेको छ । नेपालगञ्ज–२ का हरिनारायण साहुलाई आधुनिक प्रविधिका कारण आफ्नो पुख्र्यौली पेशा छाड्नुपरेको हो । तेल पेलेर जीवन निर्वाह गर्ने भएकाले नै तेली भनेर चिनिएका साहु जातिलाई आफ्नो पुख्र्यौली पेशा दिनप्रतिदिन छाड्नुपरेको बाध्यता सिर्जना छ ।

हरिनारायणका अनुसार पुरानो प्रविधिबाट सञ्चालन गरिने सो पेशामा अहिलेको नयाँ प्रविधिले स्थान ओगटिसकेको हुँदा साहु जातिको पेशा अहिले सङ्कटमा परेको छ । पुरानो प्रविधिअनुसार काठको कोलुमा बैल (गोरु)लाई बाँधेर तोरी पेल्दा धेरै समय लाग्ने र अहिले नयाँ प्रविधिमा एकैछिनमा हुने भएकाले आफ्नो पुख्र्यौली पेशा छाड्नुपरेको विमल साहुले बताउनुभयो ।

साहु जाति पहिलेदेखि नै आर्थिकरूपमा पिछडिएको हुँदा तेल पेल्नका लागि आएको पछिल्लो महङ्गो नयाँ प्रविधिलाई अँगाल्न नसकेका कारण पेशा छाड्नुपर्ने बाध्यता उत्पन्न भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “जुन पेशाले आफूहरूलाई समाजमा चिनाउन मद्दत ग¥यो त्यसलाई अहिले छाड्नु परेकामा धेरै दुःख लागेको छ ।

जिल्लामा छरिएर बसेका साहु जातिले पहिले पहिले तेल पेलेर जीवन निर्वाह गर्ने गरे पनि अहिले आएर उनीहरुले आफ्नो पुख्र्यौली पेशा छाडिसकेको साहु समाजका अध्यक्ष हंसराम साहुले बताउनुभयो । साहु समुदायमा जनचेतनाको अभाव छ । शुरुदेखि नै आफ्नो पुख्र्यौली पेशालाई संरक्षण गर्न नसक्दा दैनिक जीवन निर्वाह गर्न अन्य पेशा अपनाइरहेका छन् ।

यहाँका अधिकांश साहु जातिका समुदायले अहिले विभिन्न किसिमका व्यापार व्यवसाय र नोकरी गर्ने गरेका छन् । नेपालगञ्ज–११ का लल्लीदेवी साहु आफ्नो समुदायको पुख्र्यौली पेशा गर्न त चाहनुहुन्छ तर प्रविधि पुरानो भएको र अहिलेको नयाँ महङ्गो प्रविधिलाई आर्थिक समस्याका कारण लिन नसक्दा छाड्नु नै उचित हुने बताउनुभयो । मधेसी समुदायभित्र पर्ने साहु जातिको बाँकेमा चार हजार बढीको जनसङ्ख्या छ ।

सम्बन्धित