तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल वायुसेवा निगमको ओसाका उडान सातामा दुई दिनमात्रै  

काठमाडौँ     यही भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान शुरु गरेको नेपाल वायुसेवा निगमले साताको दुई दिनमात्रै उडान भर्ने भएको छ ।

वाइड बडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलो पटक जापान उडान भरेको निगमले तत्काललाई यात्रुको सङ्ख्या कम रहेको भन्दै जापानमा उडान तालिका घटाएको हो । निगमले अव सातामा मङगलबार र शनिबार मात्र उडान गर्नेछ । यसअघि सातामा तीन दिन मङलबार, आइतबार र शनिबार उडान गर्ने कार्यतालिका थियो ।

ओसाकास्थित कन्साई इन्टरनेशनल विमानस्थलमा निगमको २७४ सिट क्षमताको वाइड बडी ए–३०३०–२०० जहाजले पहिलो उडान गरेको थियो । त्यसयता जम्मा तीन उडान भएका छन् ।

पर्याप्त मात्रामा यात्रु नभएकाले उडान तालिका संशोधन गरी सातामा दुई दिन मात्रै ओसाका उडान गरिने निगमका सहायक प्रवक्ता सुलेख मिश्रले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार दसैँ, तिहार र त्यसपछिको समयमा हालको उडान सङ्ख्या बढाएर चार पु¥याइनेछ । सन् १९९४ देखि निगमले ओसाका उडान गर्दै आएकोमा सन् २००७ मा जहाजको सङ्ख्या अपुग भएको भन्दै उडान स्थगन गरेको थियो । त्यसताका निगमले काठमाडौँदेखि चीनको साङ्घाई हुदैँ ओसाका उडाउने गरेको थियो ।

निगमको ध्यानाकर्षण
नेपाल वायुसेवा निगमले आफ्नो संस्था र कार्यकारी अध्यक्ष मदन खरेलसँग जोडी विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निगमले आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष खरेल हाल अस्वस्थ्य हुनु भएकाले चिकित्सकको सल्लाह बमोजिम उपचारको सन्दर्भमा आराम गरिरहनुभएको स्पष्ट पारेको छ ।

 चिकित्सकका अनुसार अध्यक्ष खरेललाई मौसमी भाइरल र टाइफाइडबाट सङ्क्रमित हुनु भएकाले कम्तीमा पाँच दिन आराम गर्नुपर्नेछ । कार्यकारी अध्यक्ष विश्राममा रहनुभएको प्रशङ्गलाई अतिरञ्जित समाचारको रुपमा आएकोमा सोको खण्डन गर्दै निगमले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button