तपाईँ सुन्दै हुनुहुन्छः

दुई करोडमा हाइमास्ट जडान गरिँदै

बाँके-बाँकेको कोहलपुर नगर क्षेत्रलाई उज्यालो शहरका रुपमा विकसित गर्न कोहलपुर नगरपालिकाले १५ हाइमास्ट लाइट (उच्च क्षमतायुक्त) जडान गर्दैछ । विभिन्न दातृ निकायको रु दुई करोड सहयोगमा हाइमास्ट जडान गर्न लागिएको नगरपालिकाका प्रमुख लुटबहादुर रावत बताउनुभयो ।

उहाँका अनुसार शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र नगरपालिकाबीच भएको छलफलमा मन्त्री राईले नगरपालिकाको उज्यालो अभियानलाई सफल बनाउन ‘हाइमास्ट लाइट’ जडान गरिने बताउनुभयो । कोहलपुर क्षेत्रका आम नागरिकले कोहलपुर नगरलाई सुन्दर र उज्यालो बनाउन नगरपालिकासँग पटक–पटक अनुरोध गरेअनुसार नगरपालिकाले शहरी विकास मन्त्रालय, कोहलपुर नगर विकास समितिलगायत सरोकारवाला निकायसँगको समन्वयमा हाइमास्ट जडान गर्ने कार्य अघि बढाएको प्रमुख रावतको भनाइ छ । बाँकेमा नेपालगञ्ज उपमहानगरपालिकाले स्थानीय विपीचोकमा केही महीनाअघि हाइमास्ट जडान गरेको थियो ।

उक्त हाइमास्टले विपीचोक क्षेत्रको सुन्दरता बढाउनुका साथै रातिको समयमा पनि पैदलयात्रुदेखि सवारीसाधनलाई सडक पार गर्न सहज भएको छ । यही कामलाई पछ्याउँदै कोहलपुरमा पनि हाइमास्ट जडान गर्ने प्रक्रिया अघि बढाएको हो ।

नगरपालिकाका प्रमुख रावत र शहरी विकासमन्त्री राईबीच भएको छलफलमा कोहलपुर नगरपालिका क्षेत्रभित्र ५०० व्यक्ति अट्ने सिटीहलको निर्माणसमेत गर्ने विषयमा सहमति भएको छ । सिटीहल निर्माणबारे यसअघि पनि पटक–पटक छलफल हुँदै आएको थियो । सिटीहलका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत यसअघि तयार भए पनि सरोकारवाला निकायले चासो नदेखाउँदा हालसम्म सिटीहल निर्माणको कामले गति लिनसकेको थिएन ।

नगरपालिकामा जनप्रतिनिधिको पनि हालसम्म चासोमा नपरेको सिटीहल निर्माणले गति लिएको नगरपालिकाका उपप्रमुख सञ्जुकुमारी थारूले बताउनुभयो । कोहलपुरको समग्र विकासमा सिटीहल र हाइमास्ट जडानले थप मद्दत गर्ने भन्दै उहाँले जनचाहना र मागअनुसार नै विकास निर्माणका गतिविधिलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । सिटीहल निर्माणमा रु १० करोड लाग्ने अनुमान गरिएको छ । कोहलपुर नगरपालिका–११ स्थित नगर विकास समितिको दुई बिघा जग्गामा सिटीहल निर्माण हुने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button