तपाईँ सुन्दै हुनुहुन्छः

विश्व हात्ती दिवस : चितवनमा धुर्बे हात्ती शान्त छ, तर रोनाल्डो अझै बदमास

‘रोनाल्डोको आक्रमण’

सौराह नजिकैको हात्ती प्रजनन केन्द्रमा ढोई र छावा

तर गएको असार ३१ गते सबेरै रोनाल्डोको एक स्थानीय मानिससँग ‘जम्काभेट’ भयो। बाघमारा सामुदायिक वन नजिकै उसले ६२ वर्षीय कान्छा दराइलाई ‘आक्रमण गरेको’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए। राप्ती नदी किनारबाट हात्तीले ‘सम्भवत: घिसारेर वन भित्र पुर्‍याएका’ दराइ केही बेरपछि मृत अवस्थामा फेला परे।”रोनाल्डो हात्तीको आक्रमणमा परेर उनको ज्यान गएको हाम्रो निष्कर्ष छ,” ढकालले बीबीसीसँग भने।

“उसले बेलाबेला घरहरू भत्काइदिने, बालीनालीमा क्षति पुर्‍याइदिने गरेको सुनिएपनि हालैको समयमा मानिसहरूलाई आक्रमण गरेको थिएन।”वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाएका पीडितका परिवारले नेपाल सरकारबाट १० लाख रूपैयाँ क्षतिपूर्ति पाउने गरेका छन्। दराइका आफन्त क्षतिपूर्ति प्रक्रियामा रहेको ढकालले बताए। त्यो दुर्घटनापछि ‘रोनाल्डो’ले अर्को कुनै उत्पात गरेको छैन। “ऊ शान्त नै देखिएको छ,” उनले भने।

‘धुर्बे’ हात्ती कहाँ गयो?

‘रोनाल्डो’को भन्दा धेरै कुख्याति कमाएको चितवनको अर्को जङ्गली हात्ती हो ‘धुर्बे’।करिब १० वर्षअघिदेखि पर्सा र चितवन राष्ट्रिय निकुञ्ज वरपर घरहरू भत्काउँदै र मानिसहरूलाई आक्रमण गर्दै हिँड्ने गरेको ‘धुर्बे’ हात्ती वर्षौँसम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरूमा पनि आउने गर्दथ्यो।

उसको आक्रमणमा कैयौँ मानिसको ज्यान समेत गएको थियो।तर २०७० सालदेखि ‘धुर्बे’ हात्ती अचानक हरायो।ढकालका अनुसार त्यसपछि ‘धुर्बे’ हात्ती केही समय निकुञ्जदेखि उत्तर तर्फको चुरेको वन क्षेत्रमा गएर बस्यो। त्यसको केही समयपछि ऊ चितवन नै फर्कियो।”हिजोआज ‘धुर्बे’ हात्ती पश्चिम चितवनको सुकिभार र भिम्ले क्षेत्रका हात्तीसार नजिकै देख्न सकिन्छ,” उनले भने।”त्यस क्षेत्रमा सरकारी र निजी हात्तीसारहरू छन्। त्यहाँ रहेका ढोईसँग ‘धुर्बे’ र अन्य जङ्गली हात्तीको संसर्ग हुने गरेको छ।

नेपालमा कति छन् हात्ती?

झापामा हात्तीको हुल

हात्तीमा विद्यावारिधी गरेका वन्यजन्तुविद् डा. नरेन्द्रमान बाबु प्रधानका अनुसार नेपालमा करिब दुई सय जङ्गली हात्ती रहेका छन्।निकुञ्जमा संरक्षणका काम र पर्यटनका लागि पालिएका घरपालुवा हात्तीहरूको सङ्ख्या पनि त्यसकै हाराहारीमा रहेको छ। जङ्गली हात्तीको सबैभन्दा ठूलो सङ्ख्या बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको छ। त्यहाँ करिब एक सय जङ्गली हात्ती रहेका छन्। शुक्लाफाँटामा जङ्गली हात्तीको सङ्ख्या पाँच रहेको बताइन्छ।

पर्सा-चितवन निकुञ्ज क्षेत्रमा करिब ६० वटा जङ्गली हात्ती विचरण गर्ने अनुमान छ। पूर्वी नेपालको झापामा करिब १५ जङ्गली हात्ती रहेको बताइन्छ।प्रधानका अनुसार हात्तीको सङख्या तलमाथि भइरहन्छ किनभने हात्तीको हुल एक ठाउँबाट अर्को ठाउँमा गइरहन्छ।

हात्तीको फुटबल

हात्तीले किन उत्पात गर्छ?

निकै बुद्धिमान् र स्मरणशक्ति बलियो हुने हात्ती समूह र परिवारमा बस्ने गर्दछ। लगभग मानिसकै जति आयु हुने हात्ती समझदार र दयालु स्वभावको हुने र उसले सितिमिति मानिसलाई आक्रमण नगर्ने विज्ञहरू बताउँछन्। तर भीमकाय शरीर हुने हात्तीलाई बाच्नको लागि धेरै आहारा आवश्यक पर्ने हुँदा निकै भौँतारिने गर्छ।

तराई क्षेत्रमा बालीनाली खाइदिने गर्दा स्थानीय बासिन्दाहरू हात्तीविरुद्ध खनिने गर्छन्। हात्तीविद् प्रधान भन्छन्, “मानिसले उत्तेजित तुल्याएर आक्रमण गर्न थालेपछि हात्तीलाई पनि रिस उठ्छ। ‘धुर्बे’ हात्तीले पनि त्यसै भएर आक्रमण गरेको होला।”

मानव-हात्तीबीच द्वन्द्व किन चर्किँदै?

झापामा हात्ती रोक्न राखिएको बिजुलीको तार

पूर्वी नेपालको झापामा हुने हात्ती र मानवबीचको द्वन्द्व कम हुने कुनै सङ्केत मिलेको छैन। त्यहाँ हात्तीहरूलाई रोक्न छेकबार लगाइएपनि हात्तीहरू गाउँ वा शहर पस्ने क्रम रोकिएको छैन। हल्दीबारी र मेचीनगर हात्तीका कारण प्रताडित छन्।

विज्ञहरूका अनुसार २०१७ सालपछि तराई भेगमा मानिसहरूको बसाइँ सर्ने क्रम बढ्यो। चारकोसे झाडी मासियो। वन विनाश बढेपछि हात्ती र अन्य वन्यजन्तुको बासस्थान मासिन थाल्यो।बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल भन्छन्, “हात्तीहरू मानिसका गाउँ बस्तीमा पुग्न थालेपछि द्वन्द्व चर्किने क्रम बढेको छ।”

“हात्तीले अहिले पनि यहाँको गाउँ र खेतीपातीमा धेरै क्षति पुर्‍याइरहेको छ।”झापाको डिभिजन वन कार्यालयका अनुसार विगत १० वर्षमा त्यहाँ हात्तीको आक्रमणमा ३५ भन्दा बढी मानिसको ज्यान गइसकेको छ।हात्तीलाई भगाउन वा रोक्न राखिएका बिजुलीका नाङ्गा तारमा करेन्ट लागेर १० वर्षमा कम्तीमा पाँच जङ्गली हात्तीको ज्यान गइसकेको छ।

“कम घातक तारबार”

‘धुर्बे’ र ‘रोनाल्डो’ बस्ने चितवन र पर्सामा चाहिँ मानवबस्ती नजिक आउनबाट जङ्गली हात्तीलाई रोक्न सौर्य ऊर्जाबाट विद्युत प्रवाह हुने ‘कम घातक तारबार’ लगाउन थालिएको पर्सा निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले बताए। उनी भन्छन्, “राजमार्ग र अन्य पूर्वाधारले झन् हात्तीलाई झनै सङ्कटमा पारिदिएको छ।” “हात्ती संरक्षण प्रयास निकै चुनौतीपूर्ण बन्दै गइरहेको छ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button