तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा घर भत्किँदा र पहिरोले बगाउँदा दुईजनाको मृत्यु

भोजपुर । भोजपुरमा पाँच दिनयता लगातारको वर्षाका कारण पहिरोमा पुरिएर र घर भत्कँदा दुईजनाको मृत्यु भएको छ ।
रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षिय जगतबहादुर राईको घरमा सुतिरहेको अवस्थामा घरको चुली गा¥हो भत्किएर पुरिंदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिनुभयो ।
यसैगरी? टेम्केमैयुङ गाउँपालिका वडा नं. ९, लेखर्कका १४ वर्षीय बालक जनक वि.क. को शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको स्थानीय अनिलकुमार राईले जानकारी दिनुभयो ।
वर्षा भइरहेकाले भोजपुरमा हवाई तथा सडक यातायात ठप्प भएको छ ।
भोजपुर लेगुवा सडक खण्डको ठाउँ ठाउँमा पहिरो गएको छ ।
वर्षाले जमीन चर्किन र भासिन थालेको साथै खोला नदीको बहाव बढेका कारण विपदको उच्च जोखिम बढेकाले सतर्क रहन जिल्ला विपद व्यवस्थापन समिति तथा आपतकालीन कार्यसञ्चालन केन्द्रले आग्रह गरेको छ ।
भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाका अनुसार, जिल्ला सदरमुकाम लगायत गाउँगाउँबाट घरहरु जोखिममा परेको तथा हिले भोजपुर मुख्य सडक लगायत ग्रामीण सडकहरुमा अवरोध भएका खबरहरु आइरहेकाले संभावित विपदलाई ख्याल गर्दै पर्याप्त स्रोत र साधनको व्यवस्था गर्नलाई सम्बन्धित निकायहरुमा अनुरोध गरिएको छ ।
भोजपुर जाने मुख्य सडकमा पाख्रीबास लेगुवा खण्डमा गाडीहरु भासिएर अवरुद्ध भएका छन् ।
यस्तै, भैसीपंखाको गजुरमुखी भीरमा माथिबाट पहिरो खस्ने क्रम जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button