तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिका, चीनबीच व्यापार वार्ता पुनः शुरु

२५ असार (रासस):   संयुक्तराज्य अमेरिका र चीनका उच्च व्यापार मध्यस्थकर्ताबीच मङ्गलबार टेलिफोनमा कुराकानी भएको छ ।

दुबै मुलुकबीच विश्वासको वातावरण रहेको घोषणा गरेको करिब एक हप्तापछि नै व्यापार युद्धको चित्तबुझ्दो समाधानका लागि वार्ताको पहल शुरु भएको हो । अमेरिकाले चीनमाथि थप सामग्रीमा करवृद्धि गर्ने घोषणा गरेसँगै दुबै मुलुकबीच जारी वार्ता गत मे महिनामा एकाएक भङ्ग भएको थियो । अमेरिकी कदम लगत्तै चीनले पनि प्रतिशोध स्वरुप कतिपय अमेरिकी सामानमा करवृद्धि गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच गत जुन २९ मा जापानमा भेटवार्ता भएपछि अबरुद्ध व्यापार वार्ता पुनः थालनी गर्ने विषयमा सहमति भएको थियो ।

विश्वका २० औद्योगिक राष्ट्रहरुको शिखर सम्मेलन (जी२०) बैठकमा सहभागी हुन जापानको ओशाकामा रहँदा दुबै नेताबीच व्यापार, लगानी र बौद्धिक सम्पत्तिको सुरक्षाजस्ता विषयमा छलफल भएको थियो । अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिन र व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले चिनियाँ उपप्रधानमन्त्री लिऊ हे र वाणिज्य मन्त्री झोङ शानसँग मङ्गलबार टेलिफोनबाट कुराकानी गर्नुभएको थियो । ह्वाइट हाउसका आर्थिक सल्लाहकार ल्यारी कुडलोले संवाददाताहरुसँग कुरा गर्दै वार्ता निकै रचनात्मक भएको तर विस्तृत विवरण सार्वजनिक गर्ने समय नभइसकेको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button