तपाईँ सुन्दै हुनुहुन्छः

संखुवासभामा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान

संखुवासभा। संखुवासभामा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता समूहबीच सोमबार बिहान भिडन्त भएको छ ।
सिलिचोङ गाउँपालिका १ होयङलामा प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी मिमबहादुर लामाले बताए । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र गस्तीमा रहेको प्रहरीबीच गोली हानाहान भएको लामाले बताए ।
दुर्गम उक्त स्थानमा गस्तीमा रहेको प्रहरी र विप्लवका कार्यकर्ताबीच जम्का भेट भएपछि गोली हानाहान भएको हो । लामाले भने, ‘घटनाको जानकारी पाएपछि जिल्ला र नजिकको पोस्टबाट पनि थप बल त्यसतर्फ पठाएका छौँ ।’
प्रहरी स्रोतका अनुसार विप्लवका कार्यकर्तासँग गोली हानाहान भएपछि प्रहरीको टोली तित्तरवित्तर भएको छ । सदरमुकाबाट दुई दिन पैदल उत्तर उक्त स्थानमा प्रहरी टोली गइसके पनि पुग्न सकेको छैन् ।
घटनास्थलबाट पारीको गाउँमा रहेको सिलिचोङ गाउँपालिका–१ का वडाअध्यक्ष अलक्ष्य राईले बिहान १० देखि साढे १० बजेको समयमा गाउँमा गोली चलेको बताए । सिलिचोङ गाउँपकिालका–१ (साविक सिसुवा गाउँ विकास समिति–४ हयोङ्ला) मा गोली चलेको उनले जानकारी दिए । ‘बिहान १० बजेतिर मकै पड्केको जस्तो सुनियो, एकै चोटी धेरै गोली चलेको सुन्यौँ’, उनले भने, ‘कसले गोली चलाएको हो भन्ने हामीलाई थाहा छैन, मान्छे मरेको सूचना पनि केही आएको छैन ।’
प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद दुलालका अनुसार गोली चलेपनि तनावपूर्ण अवस्था छैन । उनले भने, ‘अहिलेसम्म अप्रिय खबर नसुनेकाले एकअर्कालाई तर्साउन गोली चलाएको हुनसक्छ ।’ गोली हानाहानपछि ताम्कु र सिसुवाबाट नेपाल प्रहरीको टोली त्यहाँ गइसकेको छ । खाँदबारीस्थित अरुण गुल्म चैनपुरबाट सशस्त्र प्रहरीको २० जनाको टोली पहिले नै त्यस क्षेत्रमा गस्तीमा थियो । त्यो टोली पनि घटनास्थलतर्फ केन्द्रित भएको प्रमुख जिल्ला अधिकारी दुलालले बताए ।
घटनास्थल शिलिचोङ गाउँपालिकाको केन्द्रबाट २० किलोमिटर पर छ । यो स्थान सोलुखुम्बु, भोजपुर, खोटाङ र संखुवासभाको संगमस्थल क्षेत्र नजिकै पर्छ ।
सेनाको हेलिकप्टरबाट सुरक्षकर्मी घटनास्थलमा
सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता र गस्तीमा रहेको प्रहरीबीच सिलिचोङ गाउँपालिका–१ होयङमामा सोमबार बिहान गोली हानाहान भएपछि सेनाका तीनवटा हेलिकोप्टर पुगेका छन् । काठमाडौंबाट पुगेका नेपाली सेनाको हेलिकोप्टरले गोली हानाहान भएको सिलिचोङको क्षेत्रमा हवाई गस्ती गरिहेको छ । तीन वटै हेलिकोप्टरबाट काठमाडौँबाट सशस्त्र र नेपाल प्रहरीका ५० जना भन्दा धेरै सिपाहीँ सिलिचोङमा उतारिएको छ । सदरमुकाम खाँदबारी पुगेर सेनाको हेलिकोप्टरले सिलिचोङको बस्ती र मकालुवरुण जंगलको क्षेत्रमा गस्ती गरिरहेका छन् । स्रोतका अनुसार सशस्त्र प्रहरी निरीक्षक उमेश थापा र नेपाल प्रहरीका प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५÷२५ जनाको बेग्लाबेग्लै टोली सेनाको एमआई १७ हेलिकोप्टरबाट संखुवासभामा उतारिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button