तपाईँ सुन्दै हुनुहुन्छः

पुनर्निर्माणमा कार्यरत प्राविधिकहरु काममा फर्कन सहमत

काठमाडौं । पुनर्निर्मणमा कार्यरत प्राविधिकहरु काममा फर्कन सहमत भएका छन् ।

नेपाल इन्जिनयर्स एशोसियसनको मध्यस्थातामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकहरुबीच भएको छलफलमा प्राविधिकहरुले आफूहरुका माग सम्बोधन भइसकेकाले तत्काल काममा फर्कने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपीडित जनताको संवेदनशीलता र पुनर्निर्माणको महत्वलाई विशेष ध्यान दिइ काममा लाग्न र गाउँपालिका तथा नगरपालिकाहरुमा पुनर्निर्माण कार्यको नेतृत्व लिन प्राविधिकहरुलाई निर्देशन दिनुभयो ।

काममा नगइ व्यवसायिक मूल्य मान्यता कायम गर्न नसकेको भेटिए राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभागीय कारवाही गर्ने भएको छ । ‘प्राविधिकहरुका माग सम्बोधन भैसकेको अवस्थामा सम्पूर्ण प्राविधिक साथीहरु प्रतिबद्ध भइ काममा लाग्नेछन् । यदि आगामी दिनमा काममा नगई व्यवसायिक मूल्य मान्यता कायम गर्न नसकेको भेटियो भने त्यस्ता प्राविधिकहरुलाई राष्ट्रिय पुर्निर्माण प्राविधिकरणले विभागीय कार्वाही गर्न सक्नेछ-‘ निर्णयमा उल्लेख गरिएको छ ।

नेपाल इन्जिनियर्स एशोसियसनका महासचिव छविराज पोख्रेलले इन्जिनियरिङ पेशाको गरिमालाई बढाउने गरी काम गर्न आग्रह गर्दै पुनर्निर्माणको कार्यलाई ढिला गर्न र अल्झाउन प्राविधिकहरुलाई छुट नभएको बताउनुभयो ।

प्राविधिक अविनाश अमरले मागहरु पूरा भएकोमा सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्व र नेपाल इन्जिनियर्स एशोसियसनका पदाधिकारीहरुलाई धन्यवाद दिनुभयो ।

प्राविधिकहरुले अतिरिक्त भत्ता र सुविधाको माग राखी आन्दोलन गर्दै आएकोमा गत हप्ता बसेको मन्त्रिपरिषद्को बैठकले पुनर्निर्माणमा कार्यरत प्राविधिकहरुलाई अतिरिक्त भत्ता र सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button