तपाईँ सुन्दै हुनुहुन्छः

फुको चिउरा र टाँकी घाँसले धानेको  न्याउरी चेपाङको कथा

 चितवन । देवीटारबाट अजिङ्गरे गाउँ जाँदा उनको घर झट्ट देखिँदैन । बाटो छेउमै घर भएपनि मकैका केही बोटले छेकिएको सानो घरमा मेरो आँखा झ्वाट्ट पर्‍यो ।  मैले अचानक मोटरसाइकल रोके र मसँगै गएका चेपाङ अभियन्ता केपी किरण शर्मालाई बाइकबाट ओर्लन भने ।
मैले सोचेँ, यो कोही चेपाङकै घर हुनुपर्दछ । घरभित्र को हुनुहुन्छ  रु  भनी बोलाउँदा एक वृद्ध महिला देखा परिन् । करिब ६६–६७ वर्षीय महिलाको नाम न्याउरी लाटी चेपाङ भन्दा रहेछन् गाउँलेहरूले । उनलाई आफ्नै नाम पनि थाहा रहेनछ । उनको न आफ्नो जग्गा जमिन रहेछ, न पानी ओतिने राम्रो घर नै ।
ओत लगाउन बनाएको एउटा झुप्रो थियो, छानामा थाकलले छाएको । छानाबाट पानी छिरेर झुप्रोभित्र पानी बग्ने कुलेसो काटिएको घरभित्र प्रस्टै देखिन्थ्यो । अम्रिसोले बारेको घरमा ढोका भने रूखका लामा लामा बोक्राहरू थिए । भित्र सानो खोपी जस्तो घर छ भने सोही भित्र एउटा माउ बाख्रा र ३ वटा पाठापाठीको छेउमै उनको सुत्ने काठको टाँड रहेछ ।
राम्रोसँग बोली पनि पु¥याउन नसक्ने र कान पनि राम्रोसँग नसुन्ने न्याउरी लाटी चेपाङले हिजो बेलुका केही खाने कुरा नभएर भोकै सुतेको बताइन् । बिहान भने गाउँमा एक मुठी फुको चिउरा पाएर खाएको बताइन् । बेलुकाको लागि भर्खरै टाँकी घाँस टिपेर ल्याएको उनले बताइन् । टाँकीको थाल देखाउँदै उनले भनिन्, ‘अन्न केही छैन,आज बेलुका यसैले छाक टार्छु ।’
४–५ वर्ष अगाडि श्रीमानको मृत्यु भएको र सहारा कोही नभएपछि न्याउली आफैले सो फुसको झुपडी बनाएर बसेको स्थानीयहरू बताउँछन् । बहिनी ज्वाइँको जग्गामा उनी बस्दै आएको स्थानीय नरजङ्ग चेपाङले बताए । न्याउरी चेपाङसँग आफ्नो नागरिकता समेत रहेनछ । यसैकारण न्याउरीले पाउनु पर्ने एकल महिला भत्ता समेत पाएकी छैनन् ।
उनको त्यो अवस्था देखे पछि चेपाङ अभियन्ता केपी किरण शर्माले आफ्नो गोजीमा रहेको १ सय १० रूपैया दिएर भरे केही किनेर खान अनुरोध गरे ।
त्यसपछि हामी अगाडि बढ्यौँ । उनको मात्र होइन, उनलाई त्यहाँ बाँस बस्न दिने बहिनी ज्वाइँ दिल बहादुर चेपाङको घरकमा पनि खानेकुरा केही थिएन । 
हामी उनको घरभित्रै पसेर हेर्यौं । बिरामी छोरी र परिवार पाल्न समस्यामा परेका दिल बहादुर घरमा भेटिएनन् । बिरामी छोरी राधिका चेपाङले बा आमा च्याउ टिप्न जङ्गल गएको बताइन् ।
उनीहरू मात्र होइन कालिका नगरपालिका वडा  नं। ८ अजिङ्गरे गाउँका अधिकांश मानिसहरू दिउँसो घरमा भेटिएनन् । उनीहरू सधैँ जसो च्याउ र गिट्ठा खोज्न गएको स्थानीय नरजङ्ग चेपाङले बताए । सो गाउँमा ६६ घरधुरी रहेको र करिब ४० घरको अवस्था बिहान बेलुका छाक टार्नै मुस्किल रहेको अजिङ्गरे टोल विकास संस्थाका अध्यक्ष राजकुमार चेपाङ जानकारी दिनुभयो । अधिकांश गाउँले जङ्गलमा गिट्ठा, च्याउ खोज्न जाने गरेको चेपाङले बताउनुभयो ।
उनी पनि दिउँसो घरमा नभेटिए पछि गाउँलेसँग टेलिफोन नम्बर मागेर फोन गर्दा उनले भने, आफू पनि च्याउ टिप्न गएको बताउँदै उनले गाउँमा अनिकाल छ, खानेकुरा छैन, लकडाउनले काम गर्न जाने ठाउँ छैन के गर्नु सर १ उनले टेलिफोनमा भने ।
गाउँका सबैजसो घर चेपाङकै रहेको र लकडाउनले गर्दा ज्याला मजदुरी गर्न नपाउँदा उनीहरूको बिचल्ली भएको चेपाङ अभियन्ता तथा पत्रकार केपी किरण शर्माले बताए । वर्षभरिमा २–३ महिना मात्र खोरिया बारीको उब्जनीले खान पुग्ने सो गाउँका चेपाङहरू कोरोना कहरका कारण झन् समस्यामा परिरहेको अभियन्ता शर्माले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button