तपाईँ सुन्दै हुनुहुन्छः

एक्स–रे सेवा पुनःसञ्चालनमा

बैतडी । जिल्ला अस्पतालमा एक हप्तादेखि अवरुद्ध रहेको एक्स–रे सेवा पुनःसञ्चालनमा आएको छ । मेसिन बिग्रेर अवरुद्ध भएको एक्स–रे सेवा आजदेखि सञ्चालन भएको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभयो । बिग्रिएको मेसिन मर्मतपश्चात् सञ्चालनमा आएको डाक्टर जोशीले बताउनुभयो ।

हातखुट्टा भाँचिएमा र छातीको एक्स–रे गर्नका यसअघि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको थियो । एक्स–रे सेवा सञ्चालन भएसँगै उक्त सेवा लिनका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यताको अन्त्य भएको उहाँले बताउनुभयो । लकडाउनका बेला बाहिरी जिल्ला जानसमेत समस्या हुने गरेको भए पनि सेवा सञ्चालन हुँदा उक्त सेवा लिने बिरामीलाई सजिलो भएको छ ।

जिल्ला अस्पतालमा आकस्मिक कक्ष २४सैँ घण्टा, कोरोना क्लिनिक १०ः०० देखि ३ः०० बजेसम्म र ओपिडी सेवा पनि उपलब्ध रहेको जनाइएको छ ।

शङ्कास्पद एक जना आइसोलेसन भर्ना

कोरोनाका शङ्कास्पद एक युवकलाई जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ । जिल्लाको दोगडाकेदार एक रिमका २५ वर्षीय युवकलाई आइसोलेसन भर्ना गरिएको जिल्ला अस्पतालका ल्याब अस्स्टिेन्ट चन्द्रसिंह डोबालले बताउनुभयो ।

सिन्धुपलाञ्चोकबाट एक हप्ता अगाडि घर फर्केका ती युवकमा कोरोनाको शङ्कास्पद लक्षण देखा परेपछि आइसोलेसन भर्ना गरिएको हो । ती युवकमा बान्ता आउने, रिंगटा लाग्ने जस्ता लक्षण देखा परेपछि आइसोेलेसन भर्ना गरिएको जनाइएको छ । आइसोलेसन भर्ना भएका युवकको थ्रोट स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाइएको जिल्ला अस्पतालका प्रमुख जोशीले जानकारी दिनुभयो ।

छ जना डिस्चार्ज

यसैबीच जिल्लामा हालसम्म सात जना आइसोलेसन भर्ना भएका भए पनि छ जनालाइृ घर पठाइएको छ । कोरोनाका शङ्कास्पद लक्षण देखापरेका र आरडिटी पोजेटिभ आएका आइसोलेसन भर्ना भएका थिए । घर पठाइएका सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो ।
–रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button