तपाईँ सुन्दै हुनुहुन्छः

सीमामा अलपत्र नागरिकलाई स्वदेश ल्याउन आग्रह

रुपन्देही । नेपाल भारत सीमामा अलपत्र परेका नागरिकलाई स्वदेश ल्याउन रुपन्देहीमा क्रियाशील विभिन्न राजनीतिक दलहरुले सरकारलाई आग्रह गरेका छन् ।

सोमबार सम्पन्न सर्वदलीय बैठकले आधिकारिक बाटो खोलेर सीमामा अलपत्र नागरिकलाई स्वदेश ल्याउन र स्वास्थ्य परीक्षण गराई क्वारेन्टाइनमा राख्न माग गरेको हो ।

सीमा क्षेत्रमा हजारौं नेपाली अलपत्र परेका र उनीहरु लुकीछिपी नेपाल प्रवेश गरिरहेकोले उद्धार गर्नुपर्ने निश्कर्ष निकालेको नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बताउनुभयो ।

बैठकमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमुक्ति पार्टीलगायतका दलका प्रतिनिधि सहभागी थिए ।

सर्वदलीय बैठकपछि दलहरुले विदेश तथा सीमा क्षेत्रमा अलपत्र नागरिकको उद्धार गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पनि पठाएका छन् ।

त्यस्तै बैठकले किसानलाई मलखाद, बीऊबिजन अविलम्ब उपलब्ध गराउन पनि माग गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button