तपाईँ सुन्दै हुनुहुन्छः

दरमखोलामा बन्यो काठैकाठको पुल

बलेवा।  बर्खाको समयमा उर्लेको दरमखोला हेलिएर वारपार गर्ने बागलुङको गलकोटका सर्वसाधारणले अस्थायी काठेपुल पाएका छन् । गलकोट नगरपालिकाले वडा नं ५ र ६ जोड्ने गरी दरमखोलामा अस्थायी काठेपुल निर्माण गरेको हो ।

दरमखोलामा रहेको झोलुङ्गेपुल जीर्ण भएका कारण यहाँका सर्वसाधारणले जोखिम मोलेर दरमखोला वारपार गर्ने गरेका थिए । यहाँस्थित ‘राजाको झोलुङ्गेपुल’ नाम गरेको पुल गत वर्षको बर्खायाममा कामै नलाग्ने गरी लठ्ठा छिनेपछि सर्वसाधारण थप सस्यामा परेका थिए । पुलको मर्मतका लागि नगरपालिकाले बजेट विनियोजन गरेर प्रक्रियामा रहेको भए पनि तत्कालका लागि जोखिम कम गर्न अस्थायी काठेपुल निर्माण गरिएको राजाको झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर थापाले बताउनुभयो ।

अस्थायी पुल निर्माणका लागि रु दुई लाख खर्च भएको छ । दरमखोलाको पानीलाई साँघुरो ठाउँबाट निकास दिएर २० मिटर लम्बाइ र दुई मिटर चौडाइ भएको काठैकाठको पुल बनाइएको छ । “हिउँदमा पनि वर्षा भइरहेको छ दरम कतिबेला बढ्छ थाहै हुँदैन”, थापाले भन्नुभयो, “हिउँदेभेलबाट जोगिने प्रयास गरेका हौँ, बर्खाको लागि त अलि व्यवस्थित गर्नैपर्छ ।” उहाँका अनुसार झोलुङ्गे पुलको निर्माणका लागि प्राविधिक तथा प्रक्रियागत कामको क्रममा केही समय लाग्ने भएकाले अस्थायीरूपमा यो पुल बनाइएको हो । पुलले आतजावतलाई सहजता प्रदान गर्ने तथा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यताको अन्त्य भएको उहाँले बताउनुभयो । उपभोक्ता समितिले पाँच दिनमै यो पुल निर्माण गरेको थियो । तयारी काठको प्रयोग गरेर पुल बनाउँदा समय र खर्च दुवै बचेको उपभोक्ता समितिका सचिव किशान बुढाथोकीले बताउनुभयो ।

गलकोट नगरपालिकाले चालू आर्थिक वर्षमा राजाको झोलुङ्गेपुल निर्माणका लागि रु नौ लाख बजेट विनियोजन गरेको छ । पुलको प्राविधिक काम, लठ्ठाको व्यवस्थापनजस्ता काम लकडाउनका कारण अगाडि बढ्न सकेको छैन । पुल निर्माणका लागि निर्माण तथा उपभोक्ता समितिको गठनसमेत गरिएको छ । पुल निर्माणका लागि करिब रु १५–१६ लाख खर्च लाग्ने छ । गलकोट नगरपालिकाबाट विनियोजित बजेटबाहेक अन्य बजेट स्थानीयवासीको स्वतःस्फुर्त सहभागितामा व्यवस्थापन गर्ने गलकोट नगरपालिका–५ का वडाध्यक्ष नारायणध्वज मल्लले बताउनभुयो । उहाँले अस्थायीरूपमा निर्माण गरिएको काठको पुलबाट सवारी नचलाउनसमेत आग्रह गर्नुभयो । पुलको छेउमा अहिले मोटरेबल पुल निर्माणाधीन अवस्थामा छ ।

रैथाने प्रविधिबाट निर्माण गरिएको राजाको झोलुङ्गेपुल समयमै मर्मत नहुँदा समस्या सिर्जना भएको अवस्थामा काठको पुल निर्माण भएपछि केही सहजता मिलेको स्थानीयवासीको भनाइ छ । सरोकारवाला निकायको समयमै ध्यान जान नसक्दा गल्कोटको चिनारीको रूपमा रहेको राजाको पुल धरापमा परेको मल्लले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button