तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जमा स्वाब सङ्कलन तीव्र

नेपालगञ्ज । एउटै टोलका २२ सहित २३ जनामा कोरोना संक्रमण देखिएपछि नेपालगञ्जमा संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका र भेटघाट भएकाहरुको स्वाब संकलन भइरहेको छ ।

मंगलबारसम्म पहिचान भएका ७१ जना मध्ये ५६ जनाको मंगलबार साँझ महेन्द्र पार्क क्षेत्रमा स्वाब संकलन टोली पुगेर उनीहरुको नमुना लिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

आज पनि वडा नम्बर ८ को कार्यालय अगाडिबाट स्वाब संकलनको काम भइरहेको छ ।

संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएकाहरुको पहिचान गर्दै स्वाब संकलन पनि भइरहेको श्रेष्ठले बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनको विज्ञ टोलीले पनि यसमा सघाइरहेको छ । विज्ञ टोलीले एउटै टोलमा संक्रमण फैलिनुको कारण बारे अनुसन्धान पनि थालेको छ ।

पहिलो संक्रमित व्यक्तिको सम्पर्कमा आएका ९४ जनाको स्वाब लिएर परिक्षण गर्दा थप २२ जनामा कोरोना देखिएपछि उनीहरुको सम्पर्कमा आएका र उनीहरु गएका क्षेत्रहरुको पहिचान गरी सोधी खोजी भइरहेको छ ।

संक्रमित व्यक्तिहरुको वडा नम्बर ७, ८ र ५ मा आवत जावत देखिएकाले परिक्षणको दायरा बढाउनुपर्ने आवश्यकता देखिएको छ ।

पहिलो संक्रमित व्यक्तिको घर परिवार कसैमा पनि संक्रमण नदेखिएपछि अनुसन्धानको विषय थप जटिल बनेको छ ।

नेपालगञ्जमा पहिलो पटक बैशाख १९ गते वडा नम्बर ७ डिएसपी रोडकमा ६० बर्षीय पुरुषमा कोरोना देखिएको थियो । उनको यात्रा विवरणलाई पछ्याउँदै जाँदा वडा नम्बर ८ जोल्हनपुर्वा टोलका २२ जनामा पनि संक्रमण पुष्टि भएको थियो ।

संक्रमित २३ जना सबैको खजुरास्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाश बहादुर थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button