तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनको पिडामा भोजपुरका किसान, बारीमा कुहिन थाले तरकारी

भोजपुर । कोरोना संक्रमण हुन नदिनका लागि शुरु गरिएको लकडाउनको मार भोजपुरका किसानमा परेको छ ।लकडाउनका कारण उत्पादित तरकारी बारीमै कुहिन थालेपछि किसान चिन्तित भएका छन् ।

ढुवानी गर्ने साधन र हाटबजारहरु बन्द भएपछि व्यवसायीक तरकारी खेती गर्ने किसानहरु मारमा परेका हुन् । उत्पादित वस्तुलाई बजारसम्म पुर्याउने माध्यम नहुँदा किसानलाई घर खर्च टार्न समेत समस्या हुन थालेको छ ।

सदरमुकाममा लाग्ने हटियामा हरेक हप्ता सागसब्जी, तरकारी लिएर भोजपुर हटिया धाउने भोजपुर नगरपालिका वडा नम्वर ५ बोखिमकी पशुपति राई लकडाउनले हटियाहरु बन्द भएपछि बारीमा लगाइएका तरकारीहरु कुहिन थालेको बताउनुहुन्छ । तरकारी नबिकेपछि घर खर्च कसरी टार्ने भन्ने समस्या आफुमा देखिएको उहाँको गुनासो छ ।

लकडाउनले बजार बन्द भएपछि काउली, बन्दा, आलु, साग, टमाटर लगायतका तरकारी बालीहरु बारीमै कुहिन थालेको छ । ढुवानी गर्ने साधन पनि ठप्प बनेपछि तरकारीलाई व्यवस्थापन गर्न समस्या भएको अर्का स्थानीय किसान गणेश राईले बताउनुभयोे । लकडाउन सुरु भएपछि व्यवसाीक रूपमा लगाएको तरकारी बाली सदरमुकामसम्म लैजान नपाउँदा कुहिन थालेको उहाँको भनाई छ ।

आम्दानीको मुख्य श्रोत नै तरकारी खेती भएकोले किसानलाई सरकारको लकडाउनले समस्या बनाएको हो ।

छिटफुटरुपमा बिक्री भएपनि सस्तोमा बेच्नु पर्ने बाध्यता किसानहरुमा देखिएको छ । भोजपुर सदरमुकाममा लाग्ने साप्ताहिक हाट बजारमा ७ देखि ९ मेट्रिक टनसम्म तरकारी खपत हुने गरेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

उत्पादन धेरै भए पनि लकडाउनका कारण बिक्री नहुदाँ किसानहरुमा मारमा परेको कृषि ज्ञान केन्द्र भोजपुर प्रमुख योगेन्द्र प्रसाद यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button