तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा हत्या गरी फालेको अवस्थामा युवकको शव फेला

बीरगंज । बीरगंजमा एक युवकको हत्या गरी फालिएको अवस्थामा आज शव फेला परेको छ ।

बीरगन्ज महानगरपालिका वडा नम्बर २५ मौजेसिर्सिया टोलका २६ बर्षीय रवि पटेलको हत्या गरी फालिएको अवस्थामा आज बिहान शव फेला परेको हो ।

सिर्सिया सुख्खा बन्दरगाहाको पुर्वपट्टि रहेको मौजेसिर्सिया टोलमै पर्ने टाउन प्लानिङको प्लटिङमा पटेलको शव फेला परेको हो । आज बिहान शौच गर्न निस्किएका स्थानीय महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक पटेलको मुख, हात र खुट्टामा गम्भीर चोट लागेको छ भने उनको घाँटी समेत कपडाले कस्सिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

पटेलको कसैले हत्या गरी शव फालेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । मृतक पटेलका बुबा मनोज पटेलका अनुसार आइतबार राती खाना खाएपछि पटेल जलजीरा किन्न भनेर घरबाट निस्किएका थिए ।

घर नफर्किएका पटेल आज बिहान प्लटिङमा मृत अवस्थामा फेला परेको बुवा मनोज पटेलले बताउनुभयो ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाई पटेलको शव पोष्टमार्टमको लागि वीरगन्जको नारायणी अस्पतालमा पठाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बिरेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button