तपाईँ सुन्दै हुनुहुन्छः

वैदेशिक रोजगारी जोखिममा, रेमिट्यान्स झण्डै १ खर्ब घट्ने

विश्वव्यापी कोरोना भाइरसको महामारीका कारण चालु आर्थिक वर्षमा नेपालले विप्रेषणको माध्यमबाट गर्ने आय करीब १० प्रतिशतले घट्ने देखिएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार आयोजना गरेको भिडियो कन्फरेन्समा सहभागी सम्बन्धित क्षेत्रका विज्ञहरुले यसबाट नेपालको रेमिटयान्स आय दुई अंकको दरमै घट्न सक्ने देखिएको बताउनु भएको हो ।

कोरोना कारण धेरैले मुलुकहरुले श्रमिक कटौती गर्दा बैदेशिक रोजगारीमा गएका नेपाली कामदाहरु पनि श्रमिक कटौतीमा परेकोले यस वर्ष नेपाल भित्रने रेमिट्यान्स १० प्रतिशत घट्न सक्ने अनुमान गरिएको नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुणाकर भट्टले बताउनु भयो ।

भिडियो कन्फ्रेसमा बोल्दै केन्द्रिय बैकका प्रवक्ता भट्टले बहुपक्षिय साझेदारसँग ऋण सहयोग लिएर भरपुर प्रयोग गर्नुपर्नेमा पनि जोड दिनु भयो ।

श्रम आप्रवास विज्ञ एवम् इक्वीडेम रिसर्च सेन्टरका दक्षिण एशिया निर्देशक रामेश्वर नेपालले श्रम सम्झौता भएका मुलुकहरुले समेत आप्रवासी कामदार र स्वदेशी कामदारमा विभेद गरेकोले नेपाल सरकारले कुटनीतिक छलफल बढाउनु पर्ने बताउनु भयो ।

इक्वीडेम रिसर्च सेन्टरले गरेको खाडीका ६ वटा मुलुकमा गरेको अध्ययनले कतिपय नेपाली कामदार बेतलबी बिदामा बस्न रोजगारदाताले दबाब दिएको र केही कामदारले भुक्तानी पाए पनि अधिकाशं कामदारले पारिश्रमिक नपाएको जनाएको छ ।

गत आर्थिक वर्षमा नेपालमा ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । चालु आर्थिक वर्षमा केन्द्रिय बैकले ५ प्रतिशतले रेमिट्यान्स बढ्ने अनुमान गरेको थियो । तर, यो वर्ष ८ खर्ब पनि रेमिट्यान्स भित्रन नसक्ने केन्द्रिय बैकको पछिल्लो अनुमान छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button