तपाईँ सुन्दै हुनुहुन्छः

झापाका चिया बगान खोल्ने निर्णय, हरियो पत्ति संकलन र प्रशोधनको काम शुरु

भद्रपुर, झापा । निकै छोटो समयमा प्रयोग गरिसक्नुपर्ने कच्चा पदार्थमा आधारित झापाका चिया बगान तथा प्रशोधन कारखाना स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै सञ्चालन गर्ने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा हिजो बसेको सरोकारवालाको बैठकले चिया बगान र प्रशोधन कारखानाको काम नियमित गर्ने निर्णय गरेको हो ।

बैशाख ७ गतेदेखि हरियो पत्ती टिप्ने र प्रशोधन गर्ने लगायतका सबै काम हुने गरी बगान तथा प्रशोधन कारखाना सञ्चालन गर्ने निर्णय भएको झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकालले बताउनुभयो ।
लकडाउनका कारण हरियो पत्ति टिप्ने र प्रशोधन गर्ने कार्य रोकिँदा ठूलो परिमाणमा कच्चा पदार्थ खेर जाने अवस्था आएपछि नेपाल चिया उत्पादक संघ र मजदूर प्रतिनिधि बगान तथा कारखाना सञ्चालनका लागि सहमत भएका हुन् ।

बैठकले बगान तथा प्रशोधन कारखाना सञ्चालनका क्रममा तोकिएको स्वास्थ्य सम्वन्धी मापदण्ड पूरा भए नभएको विषयमा अनुगमन गर्न नेपाल चिया तथा कफी विकास बोर्डको संयोजकत्वमा अनुगमन समिति पनि गठन गरेको छ । समितिमा चिया उत्पादक संघ, झापा उद्योग संघ र ट्रेड युनियनका प्रतिनिधि रहेका छन् ।

अनुगमन समितिले मास्को प्रयोग भए नभएको, निश्चित दूरी कायम गरिएनगरिएको, स्यानेटाइजर र साबुनको प्रयोग भए नभएको लगायतका विषयमा अनुगमन गर्नेछ । बैठकले स्थानीय तहसँग आवश्यक समन्वय गरेर बगान तथा प्रशोधन कारखाना चलाउने निर्णय गरेको छ ।

झापामा दुई दर्जनजति चिया प्रशोधन कारखाना, ६० भन्दा बढी ठूला चिया बगान र पाँच सय बढी साना चिया किसान रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button