जनकपुरधामबाट श्रम स्वीकृतिको काम शुरु
जनकपुरधाम । प्रदेश नंं २ को अस्थायी राजधानी जनकपुधामवाट आज देखि श्रम स्वीकृति दिने काम शुरु भएको छ ।
कोरोनाका कारणले श्रम स्वीकृति दिने काम रोकिएकोमा श्रम तथा रोजगार मन्त्रालयले पुनः स्वीकृति दिनका लागि स्पष्ट परिपत्र जारी गरेपछि आजवाट श्रम स्वीकृतिको काम शुरु गरेको श्रम तथा रोजगार कार्यालय जनकपुरका प्रमुख सुवोध महतोले जानकारी दिनु भयो ।
सामाजिक दूरी कायम गरी कार्यालयमा आउनेहरुको तापक्रम लिएर मास्क तथा सेनिटाईजरको प्रयोग गरी श्रम स्वीकृति दिन थालेको महतोले जानकारी दिनु भयो । एक दिनमा बढीमा ५० जनालाई टोकन दिएर श्रम स्वीकृति दिने व्यवस्था मिलाईएको कार्यालयले जनाएको छ ।
श्रम स्वीकृति लिनका लागि प्रदेश नंं २ मा मात्र ५० औं हजार यूवाहरु लाईनमा रहेको प्रदेश नंं २ को श्रम तथा रोजगार कार्यालय जनकपुरधामले जनाएको छ ।
जनकपुरधामबाट प्रदेश नंं २ का ८ जिल्लाका अतिरिक्त सिन्धुली तथा उदयपुर जिल्लाका व्यक्तिहरु पनि आउने गरेको श्रम तथा रोजगार कार्यालय जनकपुरधामले जनाएको छ । वैदेशिक रोजगारीको दृष्टिकोणले नेपालमा नै सवै भन्दा बढी यूवाहरु धनुषा जिल्लाबाट गएका छन् ।
श्रम स्वीकृतिका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले समन्वय तथा सहकार्यको काम गरिरहेको छ । कोरोना महामारीलाई ध्यानमा राखेर उच्चतम स्वास्थ्य सुरक्षा सावधानी राखेर श्रम स्वीकृतिको लागि निर्देशन दिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिनु भयो ।
कोरोनाका कारणले विदेशमा पनि रोजगारी नभएको र विदेशमा भएकाहरुको रोजगारी गुमेको कारणले रोकिएको थियो । अहिले कतिपय ठाउँमा काम शुरु भएको र रोजगारीको माग आएपछि नेपाल सरकारले पुनः श्रम स्वीकृति दिन थालेको छ ।
प्रतिक्रिया राख्नुहोस्