तपाईँ सुन्दै हुनुहुन्छः

‘लागुऔषध दुर्व्यसन, ओसारपसार र भन्सार छली नियन्त्रण गर्न आवश्यक’

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीमित साधन स्रोतका बाबजुद नेपाल प्रहरीले शान्ति सुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान तथा कानुन कार्यान्वयन लगायतका काममा देखाउँदै आएको क्रियाशीलताको सराहना गर्नुभएको छ ।

६९ औँ प्रहरी दिवसका अवसरमा मधेश प्रहरी कार्यालय जनकपुरधामद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले कानुन कार्यान्वयनसँग सम्बद्ध धेरै वटा कामको जिम्मेवारी रहेको नेपाल प्रहरीलाई थप व्यावसायिक सङ्गठनका रूपमा प्रतिष्ठित गर्न दक्ष जनशक्ति तथा आधुनिक प्रविधिको खाँचो रहेको औँल्याउनुभयो ।

उहाँले केही दिनअघि देशसँगै मधेश प्रदेशमा समेत आएको वर्षा, बाढी र डुबानका बेला राज्यका अन्य निकायसँगै नेपाल प्रहरीले समेत तत्काल तत्परता देखाएकाले थप क्षति रोक्न सफल भएको चर्चा गर्दै नेपाल प्रहरीका कामको विविधीकरण मात्र नभई विशिष्टीकरणसमेत हुनुपर्नेमा जोड दिनु भयो ।

मुख्यमन्त्री सिंहले प्रदेशमा लागुऔषधको दुर्व्यसन तथा ओसारपसार र भन्सार छलेर मालसामानको चोरी निकासी हुने स्थिति चिन्ताजनक रहेको टिप्पणी गर्दै यी प्रवृत्तिलाई निरुत्साहित एवम् नियन्त्रण गर्न नेपाल प्रहरीको भूमिका अझ सशक्त बन्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री सिंहले प्रहरी कर्मचारी, नागरिक तथा खेलाडीहरूलाई कदर तथा प्रशंसापत्र प्रदान गर्नुभयो । त्यस क्रममा उहाँले धनुषाको मिथिला नगरपालिका–१० ढल्केवरका सेवा निवृत्त प्रहरी सहायक निरीक्षक ८५ वर्षीय हरिबहादुर खडकालाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

कार्यक्रममा प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव, मधेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक लालमणि आचार्य, नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका अध्यक्ष राजेशकुमार कर्ण लगायतका व्यक्तिहरूले आआफ्ना धारणा राख्नुभएको थियो ।

विस २०१२ मा ऐन आएपछि नेपाल प्रहरी ऐनमा लालमोहर लागेको दिनलाई प्रहरी दिवसका रूपमा मनाइन्छ । विसं २०१२ मा नेपाल प्रहरी ऐन आएको थियो । नेपाल प्रहरीले २०५२ सालदेखि स्थापना दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button