तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी समायोजन नहुँदा प्रदेशको काम प्रभावित : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारको काम समेत प्रभावित भएको गुनासो गर्नुभएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयले बुधवार आयोजना गरेको ६९ औँ प्रहरी दिवसको कार्यक्रममा बोल्दै उहाँले अहिले पनि २०१२ सालको ऐन देखाएर प्रहरी समायोजन नहुँदा प्रदेशको काम प्रभावित भएको बताउनुभयो ।

संवैधानिक व्यवस्था अनुसार प्रदेश स्तरमा प्रहरी समायोजन भइसक्नुपर्ने उल्लेख गर्दै उहाँले संविधानको व्यवस्था र सङ्घीयताको मर्मअनुसार संघ सरकारले तत्काल प्रहरी समायोजन गर्नुपर्ने माग गर्नुभयो । गण्डकी प्रदेश सरकारले आफु मातहत नभए पनि प्रदेश भित्रका नागरिकको सुरक्षा, सेवा गरिरहेको सुरक्षाकर्मीलाई सहयोग गर्ने गरी कार्यक्रम र बजेट बिनियोजन गरेको मुख्यमन्त्री पाण्डेको दाबी छ । आर्थिक वर्ष २०८१/८२ मा कार्यान्वयन हुने गरी प्रदेश सरकारले प्रहरी चौकीहरू निर्माण, तालिम केन्द्रको संरचना, प्रहरी अस्पतालको भौतिक संरचना निर्माण सिसिटिभी जडान, घेराबार, र चौकीहरूको भौतिक पूर्वाधारका योजनामा १३ करोड ९५ लाख बजेट बिनियोजन गरेको उहाँले जनाउनुभयो ।

सुरक्षाकर्मीलाई साधन स्रोत सम्पन्न बनाउन, आधुनिक प्रविधिसँग दक्ष बनाउन राज्यले अहिले भइरहेको भन्दा लगानी बढाउनुपर्ने उहाँको भनाई छ । खोज तथा उद्धारमा प्रयोग हुने विपद् सामग्रीहरु हस्तान्तरण, तालिम, सचेतनामुलक कार्यक्रम, लागु औषध दुर्व्यसनी न्यूनीकरणका कार्यक्रम प्रदेश सरकारको सहयोगमा प्रदेशभर प्रहरीले सञ्चालन गर्दै आएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

देशमा शान्ति सुरक्षा कायम राख्ने सवालमा मात्र नभई विपद्का समयमा पनि नेपालमा सुरक्षा संयन्त्रहरूले निर्वाह गर्दै आएको भूमिकाको मुख्यमन्त्री पाण्डेले प्रशंसा गर्नुभयो । नागरिकलाई दुःख पर्दा राज्यको पहिलो उपस्थितिको प्रतिनिधित्व सुरक्षाकर्मीले गर्ने उहाँको भनाई थियो ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले विगतदेखि नै राष्ट्र र जनताको सेवामा निरन्तर खट्दै आएको प्रहरी सङ्गठन सदैव जनमुखी, पारदर्शी र छिटो छरितो सेवा प्रवाहमा प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button