तपाईँ सुन्दै हुनुहुन्छः

मेची–महाकाली उद्धार यात्रा : झापाबाट १० जनाको उद्धार

झापा । झापाको मेचीनगर–६ काँकडभिट्टास्थित मेची पुलबाट आज मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा आरम्भ भएको छ । यात्राका क्रममा झापाबाट १० जनाको उद्धार गरिएको छ ।

जिल्लाका विभिन्न स्थानबाट नौ पुरुष र एक महिलाको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा थालिएको उद्धार अभियानका क्रममा मेचीनगर नगरपालिकाबाट चार, बिर्तामोड नगरपालिकाबाट दुई, कनकाई नगरपालिकाबाट दुई र शिवसताक्षी नगरपालिकाबाट दुई जनाको उद्धार गरिएको हो ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ मूल भावका साथ ३२ दिने उद्धार यात्रा सुरु भएको हो । उद्धार गरिएकालाई मानव सेवा आश्रम मेचीनगर सेवा केन्द्रमा राखिएको छ ।

मानव सेवा आश्रमले सातै प्रदेशका १९ जिल्लामा २५ सेवा केन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन गराउँदै आएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button