तपाईँ सुन्दै हुनुहुन्छः

दुई दिनमा झापामा १० वटा सवारी दुर्घटना : चार जनाको मृत्यु, १२ घाइते

भद्रपुर, झापा । चाडबाडमा हुने दुर्घटनालाई लक्षित गरी सुरक्षा योजना बनाइए पनि झापामा यस वर्षको दसैँको दुई दिनमा १० वटा सवारी दुर्घटना भएका छन् ।

ती दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । चारै जनाको मोटरसाइकल दुर्घटनामा ज्यान गएको हो ।

१० वटा दुर्घटनामध्ये आठ वटा मोटरसाइकलबाट दुर्घटना भएका हुन् भने एक–एक वटा सिटी र ट्याक्टर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

कार्यालयका अनुसार शनिबार मध्यराति कमल गाउँपालिका वडा नं. ४ अमलडाँगीस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

केर्खाबाट दमकतर्फ जाँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार शिवसताक्षी नगरपालिका वडा न. ८ बस्ने ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही ठाउँका २० वर्षीय सोमराज लिम्बूको मृत्यु भएको हो ।

त्यस्तै, मेचीनगर–७ इँटाभट्टामा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।

आइतबार बिहान होटल मेची क्राउनबाट काँकडभिट्टातर्फ जाँदै गरेका मेची क्राउनमा काम गर्ने मेचीनगर– ६ का २० वर्षीय अभिषेक लिम्बूले चलाएको प्र.०१–१७ प ७४४ नं.को मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गर्दा सगरमाथा यातायातका चालक मेचीनगर–७ बस्ने अन्दाजी ५० वर्षीय डिकेन राजवंशीलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका राजवंशीको उपचारको क्रममा बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक लिम्बू, मोटरसाइकलमा पछाडि सवार मेचीनगर–६ बस्ने २१ वर्षीय रमेश श्रेष्ठसमेत घाइते भएका थिए । लिम्बू र श्रेष्ठको उपचार भइरहेको छ ।
त्यस्तै दमक नगरपालिका वडा नं.२ ढुकुरपानीस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । शनिवार बेलुका ढुकुरपानीबाट हिमालय मावितर्फ आउँदै गरेको प्रदेश १–०२–४१ प १७४७ नं. को मोटरसाइकलले साइकल यात्री सोही ठाउँ बस्ने ७६ वर्षीय जयराम गुरागाईँलाई ठक्कर दिएको थियो ।

घाइते गुरागाईँलाई आम्दा अस्पताल दमकमा सामान्य उपचारपश्चात् बी एण्ड सी अस्पताल बिर्तामोड रेफर गरिएकोमा आइतबार बेलुका उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अन्य दुर्घटनामा घाइते भएका १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button