तपाईँ सुन्दै हुनुहुन्छः

दसैँमा काँक्राको भाउ बढेपछि चितवनका किसान खुशी

चितवन । हरेक वर्ष जस्तै काँक्राको मूल्य नपाएर फाल्ने गरेका चितवनका किसान दसैँको समयमा मूल्य पाउँदा खुशी भएका छन् । दसैँको समयमा काँक्राको उच्च माग भएसँगै किसानहरू दङ्ग भएका हुन् ।

भरतपुर महानगरपालिका–२५ स्थित अमृतनगरका केदार आचार्य व्यवसायीक कृषक हुनुहुन्छ । आचार्यलाई केही साता अगाडीसम्म प्रतिकिलो पाँच रुपैयाँमा पनि काँक्रो बिक्री गर्न मुश्किल थियो । हिजोआज भने सोही काँक्रोलाई प्रतिकिलो ४५ रुपैयाँमा बेच्न पाउँदा उहाँ दङ्ग हुनुहुन्छ । ‘दशैलाई नै भनेर आठ कठ्ठामा काँक्रो लगाएको थिएँ । एक हप्ता अगाडिसम्म लगानी पनि उठ्दैन जस्तो लागेथ्यो’, आचार्यले भन्नुभयो ‘काँक्रो मागसँगै मूल्य एक्कासी बढ्दा एकदमै खुशी लागेको छ ।’

अघिल्ला दसैँहरूमा गाउँ गाउँ र पहाडतिरबाट पनि चितवनमा काँक्रा लगायतका तरकारीहरू आउँथे तर यसपटक देशभर आएको बाढी पहिरोका कारण बाटो अवरुद्ध हुँदा स्थानीय काँक्रोले बजार पाएको हो ।

बागलुङको जैमिनी नगरपालिका १० स्थित स्थायी घर भएका आचार्य चितवन झरेर तरकारी खेती गरेको एक वर्ष भयो । उहाँले यसभन्दा अगाडि काँक्रो लगाउनुभएको थिएन । पहिलो वर्ष नै काँक्रोबाट राम्रो आम्दानी हुने आशमा उहाँ हुनुहुन्छ । उहाँले तिहार लक्षित गरेर आठ कठ्ठामा काँक्रो लगाउनुभएको छ । यस खेतीका लागि एक लाख रुपैयाँ लगानी लागेको उहाँले बताउनुभयो ।

पश्चिम चितवन तरकारी खेतीका लागि प्रख्यात छ । तरकारी जोन समेत स्थापना भएको यस क्षेत्रका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्न व्यस्त छन् । यसपटकको चाडबाडमा सबै प्रकारका तरकारीले मूल्य पाउँदा चितवनका किसान हर्षित भएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button