तपाईँ सुन्दै हुनुहुन्छः

चाडपर्वमा घुमौँ लुम्बिनी

लुम्बिनी । दसैँ, तिहारको बिदाको अवसरमा भ्रमणका लागि बुद्धजन्मस्थल लुम्बिनी र यससँग जोडिएका स्थलहरू पनि उपयुक्त हुन सक्छन् । त्यसैले शान्तिप्रिय र ध्यान गर्न इच्छुकहरूले दसँैं तिहार, छठलगायतका पर्वमा बुद्ध शिक्षा ग्रहण गरी लुम्बिनी भ्रमणमा बिताउन सकिन्छ । शान्ति, करुणा र सत्मार्गको प्रतीकका रुपमा बुद्धलाई विश्व समुदायले स्वीकार गरेको छ ।

लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई तराईमा अहिले चर्को गर्मी सकिएर भरखरै शीतल मौसम भित्रिएको अवस्थामा लुम्बिनी भ्रमणका लागि यो मौसम उपयुक्त रहेको बताउनुहुन्छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा बर्सेनि लाखौँको सङ्ख्यामा तीर्थालु, पर्यटक तथा अध्येताहरूका लागि लुम्बिनी महत्वपूर्ण तीर्थस्थल हो । ई. पू. ६२३ मा यहाँको सुन्दर र पवित्र बगैँचामा माता मायादेवीका कोखबाट बुद्ध धर्मका प्रणेता, शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्म भएको थियो । यो महत्वपूर्ण पावन भूमि संसारभरिका बौद्धमार्गी तथा शान्तिप्रेमीबीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध छ । बुद्ध धर्मप्रति आस्था राख्नेहरूका लागि बुद्ध जन्मस्थल यसै पनि पवित्र स्थल हो । भगवान् गौतम बुद्धले जन्म लिएको यही स्थानमा अहिले सुन्दर कलात्मक शैलीको मायादेवी मन्दिर रहेको छ । लुम्बिनीमा मायादेवी मन्दिरलगायत, शान्ति दीप, विश्वशान्ति स्तूपलगायत दर्जन बढी गुम्बा र विहार घुम्नै पर्ने क्षेत्र हुन् ।

मायादेवी मन्दिरभित्र राखिएको मायादेवीको मूर्तिलाई जन्ममूर्ति पनि भन्ने गरिन्छ । चाँैथो शताब्दीमा निर्मित यो मूर्तिले बुद्धको जन्म दृश्यलाई देखाएको छ । मायादेवीले गौतम बुद्धलाई जन्म दिँदा सहाराका लागि दाहिने हातले रुखको हाँगा समातेको र देब्रे पट्टी उहाँकी बहिनी प्रजापति र देवगणहरू भगवानको स्वागतका लागि तयारी अवस्थामा देखिएका छन् । मायादेवी मन्दिरभित्र गौतमबुद्ध जन्मेपछिको पहिलो पाइला छ । यस मन्दिरको अवलोकन गर्न र गौतमबुद्धको जन्मका बारेमा जानकारीका लागि पनि हरेक वर्ष लाखौँको सङ्ख्यामा बौद्ध तीर्थालु, अध्येता र पर्यटकहरू लुम्बिनी भ्रमणमा आउने गर्छन् ।मन्दिर परिसरमा उत्तर दिशातर्फ रहेको शान्ति दीप २४ घन्टा नै बलिरहन्छ । शान्ति दीप पानी पर्दासमेत ननिभ्ने हुँदा धेरैलाई अनौठो लाग्दछ । दीपसँगै रहेको नहरमा लुम्बिनीमा आउने पर्यटकहरू डुङ्गा चढेर रमाउने गर्छन् । लुम्बिनी गुरुयोजनाअन्तर्गत लुम्बिनीलाई सौन्दर्य दिनका लागि करिब एक किलोमिटरसम्म बनाइएको नहरमा डुङ्गा चल्ने गर्दछ ।

जापानी प्राध्यापक केन्जो टाँगेद्वारा तयार पारिएको लुम्बिनी गुरुयोजनाले तीन वर्गमाइल क्षेत्र ओगटेको छ । यस क्षेत्रलाई प्रत्येक एक वर्गमाइल क्षेत्र विभाजन गरी गुरुयोजनाअनुसार लुम्बिनी क्षेत्रको निर्माण कार्य भइरहेको छ ।

गुरुयोजनाअनुसार तीनवटा क्षेत्र पवित्र उद्यान क्षेत्र, बिहार क्षेत्र र नयाँ लुम्बिनी गाउँको रुपमा विभाजन गरी विभिन्न देशले आकर्षक स्तूप बनाएका छन् । लुम्बिनीको दक्षिण भागमा रहेको पवित्र उद्यान क्षेत्रको मुख्यरुपमा आध्यात्मिकता, शान्ति, विश्व भातृत्व र अहिंसा झल्किने वातावरणको सिर्जना गर्नुका साथै संसारभरि नै भगवान् गौतम बुद्धका सन्देश प्रतिबिम्बित गर्नु हो ।

यस्तै बिहार क्षेत्रअन्तर्गत लुम्बिनी क्षेत्रको पूर्वी बिहार क्षेत्रमा १३ वटा प्लट थेरवादीहरुका लागि र पश्चिम क्षेत्रमा २९ वटा महायानी बौद्धमार्गीका लागि छुट्याइएका छन् । यस क्षेत्रमा विभिन्न देशका बौद्ध कला, संस्कृति झल्कने आकर्षक तथा कलात्मक बिहार निर्माण गरिएका छन् । लुम्बिनी पुग्ने हरेक पर्यटक ती स्तूपहरूमा नपुगे लुम्बिनी भ्रमण अधुरै रहन्छ ।

यस्तै, गुरुयोजनाको उत्तरी क्षेत्र नयाँ लुम्बिनी ग्रामको रुपमा विकास भइरहेको छ । यात्रु तथा पर्यटकहरूका लागि यस क्षेत्रमा होटल तथा रेष्टुरेन्टलगायतका सुविधा यस क्षेत्रमा निर्माण भएका छन् । यस क्षेत्रमा दुर्लभ पक्षी सारस संरक्षण केन्द्र पनि स्थापना गरिएको छ । जापानको धार्मिक सङ्गठनद्वारा स्थापित विश्व शान्ति स्तूप र लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालयसमेत यसै क्षेत्रमा रहेका छन् ।

लुम्बिनी विश्वभरका लाखौँ मानिसहरूको धार्मिक, आध्यात्मिक तथा पर्यटकीय गन्तव्य रुपमा स्थापित भइसकेको र सुन्दर, शान्त वाटिकाका रुपमा विकसित हुँदै गइरहेको छ । पर्यटकहरुलाई राम्रोसँग गाइड गर्न सक्ने हो भने पर्यटकको बसाई अवधि समेत बढ्ने लुम्बिनी होटल व्यवसायी सङ्घका अध्यक्ष गोविन्द ज्ञवाली बताउनुहुन्छ । लुम्बिनीसँगै सिद्धार्थ गौतमले आफ्नो जीवनकालको २९ वर्ष बिताएको स्थान तिलौराकोट, देव दह र रामग्रामसमेत घुम्न सकिन्छ ।

तिलौराकोट: लुम्बिनीबाट तिलौराकोट जानका लागि सार्वजनिक यातायातको व्यवस्था छ । कपिलवस्तु पुगेपछि बुद्धसँग सम्बन्धित तिलौराकोटसँगै गोटिहवा, सग्रहवा, निग्लिहवा, अरौराकोट र सिसहनिया पनि घुम्न सकिन्छ । बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबारको भग्नावशेष हेर्न हजारौँ सङ्ख्यामा स्वदेशी तथा विदेशी बुद्ध धर्मका अनुयायी तिलौराकोट पुग्छन् ।

विश्व प्रसिद्ध ऐतिहासिक र पुरातात्त्विक महत्वको तिलौराकोटलाई प्राचीन कपिलवस्तुका रुपमा चिनिन्छ । बुद्ध जन्मस्थल लुम्बिनीबाट कपिलबस्तु सदरमुकाम तौलिहवा हुँदै जाँदा करिब २८ किलोमिटरको दूरीमा तिलौराकोट रहेको छ ।

कपिलवस्तु सदरमुकाम तौलिहवादेखि उत्तर बाणगङ्गा नदीको किनारमा अवस्थित तिलौराकोटमा ई.पू. एघारौँ शताब्दीदेखि सन् दोस्रो शताब्दीसम्मका पुरातात्त्विक भग्नावशेषहरूका साथै प्राचीन दरवारको पूर्वी तथा पश्चिमी द्वार अवलोकन गर्न सकिन्छ । यहाँ पटक पटक विश्व प्रसिद्ध पुरातत्वविद्हरुले उत्खनन् गर्दा तीन हजार वर्षअघिका संरचना फेला परेका थिए ।

कुदान: कपिलवस्तुको तौलिहवाबाट तीन किमीको दूरीमा पर्ने कुदान प्राचीन निग्रोधराको नामले चिनिन्छ । यस स्थलमा शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि प्राचीन कपिलवस्तुको राजा एवं बुद्धले आफ्ना पिता शुद्धोधन, रानी प्रजापति गौमती, श्रीमती तथा राजकुमारी यशोधरा र छोरा राहुललाई पहिलो भेट गरेको स्थल हो । यहाँ पुरातात्त्विक एवं धार्मिक महत्वको यस स्थानमा हाल तीनवटा स्तूप, एक पोखरी र एउटा इनार रहेका छन् । बुद्धसँगै आएका तीन सय भिक्षुले यस बगैँचामा रहेको पोखरीमा नुहाएको र आफ्नो साथमा आएर भिक्षुलाई बुद्धले उपदेश दिनुभएको थियो भन्ने जनविश्वास रहेको छ ।

निग्लिहवाः कपिलवस्तुको तौलिहवाबाट आठ किलोमिटर र तिलौराकोटबाट तीन किमीको यात्रापछि निग्लिहवा पुगिन्छ । यसलाई शाक्यमुनि बुद्ध पूर्वका कनकमुनि बुद्धको जन्मस्थलको रुपमा लिइन्छ । यहाँ सम्राट अशोकले ई।पू २४९ मा शिला निर्माण गरेका थिए । अहिले उक्त स्तम्भ ढलेको छ ।

गोटिहवाः क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा लुम्बिनीबाट करिब ३१ किमी दूरीको यात्रापछि पुगिन्छ । क्रकुछन्दले बुद्धत्व प्राप्ति गरेको तथा बुद्धत्व प्राप्ति गरेपश्चात् पहिलोपटक बुबासँग भेट भएको पवित्र स्थलको रुपमा गोटिहवालाई लिइन्छ । इ.पू.को तेस्रो शताब्दीमा सम्राट अशोकले यस पवित्र स्थलमा आई आफैँले शीलास्तम्भ गाडी यहाँको स्तूप निर्माण गरेका थिए ।

जगदीशपुर ताल: मानव निर्मित सबैभन्दा ठूलो जलाशय जगदीशपुर ताल हो । यो तिलौराकोटदेखि १० किलोमिटर उत्तरमा रहेको छ । विश्व रामसार सूचीमा सूचीकृत यस तालमा एकै पटक हजारौँको सङ्ख्यामा विभिन्न जातका चराहरूको अवलोकन गर्न पाइन्छ । यसको नजिकै थारु बस्ती रहेको र परम्परागत जीवनशैली, थारु जातिको प्रयोग गर्ने भाँडाकुँडा र खानपान आकर्षण हुन् ।

देव दह: देवदह प्राचीन कोलीय राजधानी हो । यो बुद्ध जन्मस्थल लुम्बिनी देखि करिब ६७ किलोमिटर पूर्वमा रहेको छ । यस ठाउँमा शाक्यमुनि बुद्धकी आमा मायादेवी, कान्छी आमा प्रजापति र श्रीमती यशोधराको माइती गाउँको रुपमा मानिन्छ । शाक्यमुनि बुद्धले बाल्यकालका कैयन समय कान्छी आमाको साथमा यहाँ बिताएको मान्यता रहेको छ । बुद्धले आफ्नो ज्ञान प्राप्तीको सातौं वर्षमा सहयोगीहरूका साथमा देव दहको भ्रमण गरेको विभिन्न बौद्ध ग्रान्थहरुमा लेखिएका छन् । यस क्षेत्रको भ्रमणबाट आध्यात्मिक पर्यटकका लागि भनानीपुर, कन्यामाई, बैरिमाइ मन्दिर तथा मायादेवी, प्रजापति र यशोधराको माइती क्षेत्रको अवलोकन भ्रमण गर्न सकिन्छ । प्राचीन कोलीय कालखण्डको पाकरी वृक्षको समेत यहाँको भ्रमणबाट अवलोकन गर्न सकिन्छ ।

रामग्राम: पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारबाट करिब तीन किलोमिटर दक्षिणबाट केही पूर्व झरही खोलाको किनारामा ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक रामग्राम स्तूप रहेको छ । करिब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ समतल मैदानमा देखिने थुम्को नै रामग्राम स्तूप हो । सम्राट अशोकले जम्बुदीपमा ८४ हजार स्तूप निर्माण गर्दा पनि रामग्रामको अस्तु लैजान नसकेको हुँदा बौद्ध धर्म र संस्कृतिको दृष्टिले यसको विशेष महत्व मानिन्छ ।

लुम्बिनी शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल भएकाले अद्वितीय आध्यात्मिक तीर्थस्थल त हुँदै हो, यसको महत्व त्यतिमै सीमित हुँदैन । यसको जैविक विविधता र मनोरम प्राकृतिक दृश्यले प्रकृतिविद्, वनस्पतिविद्, जीव शास्त्रीहरूलाई पनि मोहनी लगाउँछ । लुम्बिनीमा करिब दुई सय ५० प्रजातिका चरा छन्, जसमध्ये सारसलगायतका कतिपय दुर्लभ प्रजाति पनि पर्दछन् । लुम्बिनीमा अजिङ्गर, नीलगाई जस्ता दुर्लभ जन्तुहरू पनि पाइन्छन् ।

लुम्बिनी सन् १९९७ देखि यो स्थत विश्व सम्पदा सूचीमा समेत सूचीकृत गरिएको छ । हरेक वर्ष संसारभरबाट लाखौँको सङ्ख्यामा तीर्थालु, पर्यटक तथा अध्येताहरू लुम्बिनीको भ्रमण गर्छन् । गत वर्ष सन् २०२३ मा आन्तरिक तथा बाह्य गरी १० लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । भरत केसी / रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button