तपाईँ सुन्दै हुनुहुन्छः

हुलाकी राजमार्गअन्तर्गत कालिया खोलामा पुल र आसपास सडक कालोपत्रे नहुँदा समस्या

सप्तरी । हुलाकी राजमार्गअन्तर्गत राजविराज–कञ्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीस्थित कालिया खोलामा निर्माणाधीन पुल अलपत्र अवस्थामा छ । जसले गर्दा आवतजावतमा निकै समस्या भइरहेको छ ।  

लामा बागमती निर्माण सेवाले विसं २०७१ मा निर्माण सुरु गरे पनि काम सुस्त हुँदा स्थानीयलाई समस्या भएको छ । पुल नबन्दा खोला तरेर दैनिक सयौँ सवारीसाधन र स्थानीयले आवतजावत गर्नुपर्ने बाध्यता रहेको स्थानीय पिन्टु यादवले गुनासो गर्नुभयो । जिल्लाको सदरमुकाम राजविराजसमेत जोडने पुल भएकाले हजारौँ मानिसले जोखिमपूर्ण यात्रा गर्नु परिरहेको उहाँले सुनाउनुभयो ।   

तिरहुत गाउँपालिका–३ का बुधिलाल अरगारिया यादवले समयमा पुल निर्माण नहुँदा वर्षाको समयमा खोलामा अत्यधिक बाढी आउने र आवतजावतमा अवरोध सिर्जना हुने गरेको बताउनुभयो । “सामान्य वर्षा भएपनि खोलाबाट चार पाङ्ग्रे र दुई पाङ्ग्रे गाडी आउनेजानेक्रम पूर्ण रूपमा बन्द हुने गरेको छ । राजविराजबाट जिल्लाको पूर्वमा महेन्द्र राजमार्ग जोड्ने तिरहुत गाउँपालिका, कञ्चरुप नगरपालिका, सप्तकोसी नगरपालिका र उदयपुर जिल्लासम्मका लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा अवरोध हुन्छ”, उहाँले भन्नुभयो । 

यस्तै, यस आसपास जोडिएको करिब दुई किलोमिटर सडकसमेत कालोपत्रे हुन सकेको छैन । बज्रगुरु निर्माण सेवा जेभीको ठेक्कामा रहेको यो सडक कालोपत्रे नहुँदा थप समस्या भइरहेको सोही ठाउँका देवनारायण यादवले गुनासो गर्नुभयो ।  

यस्तै तिरहुत गाउँपालिका–५ बुधेवामा पुल निर्माण भए पनि त्यससँग जोडिएको एक किलोमिटर सडक कालोपत्रे गर्न  ढिलाइ भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button