तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा १६ करोड बढीका भेडा र खसीबोकाको कारोबार

जुम्ला । यस वर्षको दसैँमा यहाँ रु १६ करोड मूल्य बढीको भेडा खसीको कारोबार भएको छ । सदरमुकाम खलङ्गा बजारमा मात्रै रु १६ करोड ३२ लाख ३१ हजार मूल्य बराबरको भेडा खसी किनबेच भएको चन्दननाथ नगरपालिका पशुपक्षी शाखा प्रमुख वीर बहादुर रावलले जानकारी दिनुभयो । 

यहाँका भेडा पालक किसान र अन्य जिल्लाबाट ल्याइएका गरी सात हजार नौ सय २८ भेडा खसी किनबेच भएका हुन् । चन्दननाथ नगरपालिका पशुपक्षी शाखा प्रमुख रावलले भन्नुभयो , “रु १५ करोड २३ लाख २३ हजारका भेडा, रु ७७ लाख ९२ हजारका खसी र रु ३१ लाख १६ हजारका राँगा भैँसी खरिद बिक्री भएका छन् ।” स्थानीय भेडाको अधिकतम मूल्य रु २८ हजार, न्यूनतम रु १० हजार भएकामा औसत मूल्य १९ हजार तोकिएको थियो । जुम्ली खसीको अधिकतम मूल्य रु २४ हजार र न्यूनतम मूल्य रु आठ हजार भएकामा औसत मूल्य रु १६ हजार निर्धारण गरिएको थियो । अधिकतम् मूल्य रु ५० हजार र न्यूनतम मूल्य रु २६ हजारमा किनबेच भइरहेका राँगा भैँसीको औसत मूल्य रु ३८ हजार निर्धारण गरी कारोबार मूल्याङ्कन गरिएको चन्दननाथ नगरपालिका पशुपंक्षी शाखा प्रमुख रावलको भनाइ छ । 

विसं २०६८ देखि तिब्बतबाट भेडा च्याङ्ग्रा ल्याउन छाडेपछि जुम्ली भेडा खसी मात्रै बिक्री वितरण हुने गरेको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन् । स्थानीय तहको केन्द्रहरूमा पनि भेडा खसीको कारोबार हुने गरेको छ । कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूला, सिंजा गाउँपालिकाको नराकोट, हिमा गाउँपालिकाको जुगाड र बागबजार, तिला गाउँपालिकाको रारालिही, तातोपानी गाउँपालिकाको लिताकोट, पातारासी गाउँपालिकाको लासी बजार र उर्थुचौतारा, गुठीचौरी गाउँपालिकाको मणिसाँघु लगायतका बजारमा समेत भेडा खसीको कारोबार हुने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button