तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जमा लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने तयारी

बीरगंज । मौसम परिवर्तनसँगै वीरगन्जमा फेरि लामखुट्टेको प्रकोप बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने तयारी गरेको छ ।

आगामी कार्तिक १ गतेदेखि चरणबद्ध रुपमा वीरगंज महानगरका वडा–वडामा लामखुट्टे नियन्त्रणका लागि विषादी छर्न सुरु गरिने महानगरपालिकाको सरसफाई व्यवस्थापन महाशाखाका प्रमुख सर्फुदिन मियाँले बताउनुभयो ।

उहाँले लामखुट्टेको प्रकोप र त्यसबाट फैलिन सक्ने डेंगु, मलेरिया जस्ता प्राणघातक रोगको संक्रमण नियन्त्रणका लागि कार्तिक १ गतेदेखि लामखुट्टे मार्ने विषादी छर्ने काम सुरु गरिने जानकारी दिनुभयो ।

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको निर्देशन अनुसार लामखुट्टेको लार्भा मार्नका लागि एयर स्प्रे र पम्प स्प्रे गर्ने तालिका आज सार्वजनिक गरिएको मियाँले बताउनुभयो ।

जाडो मौसमको सुरुवातमा लामखुट्टेको प्रकोप बढ्ने भएकाले त्यसलाई नियन्त्रणका लागि महानगरले हरेक वडामा दैनिक तालिका बनाएरै बिहान र बेलुका ‘एयर स्प्रे’ र पम्प स्प्रे गरिने महानगरपालिकाद्वारा आज जारी सूचनामा उल्लेख छ ।

विषादी छर्ने अभियान महानगरका ३२ वटा वडामा कार्तिक २८ गतेसम्म चल्ने सरसफाई प्रमुख मियाँले बताउनुभयो ।

गर्मी सकिएर चिसो मौसम सुरु हुँदै गर्दा वीरगन्जमा लामखुट्टे बढ्ने गरेका छन् । त्यसलाई नियन्त्रण गर्न र थप लामखुट्टेलाई हुर्कन नदिन विषादी छर्ने अभियान शुरु गर्न लागिएको मियाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button