तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलद्वारा विजया दशमीको टीका ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षिया दाजु डुण्डीराज पौडेलबाट शुभसाइतमा यस वर्षको दसैँको टीका, प्रसाद, जमरा र आर्सीवाद ग्रहण गर्नुभएको छ । 

सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दशैंको टीका, जमरा र प्रसाद ग्रहण गर्नुभयो । राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दशैंको शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गर्नुभएको हो । 

सोही अवसरमा राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीका जमरा लगाइदिनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । 

विजया दशमीका उपलक्ष्यमा आजै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ :३० बजेसम्म विशिष्ट व्यक्तित्व र ३ : ३० देखि ५ बजेसम्म सर्वसाधारणलाई टीका जमरा लगाइदिनुहुने कार्यक्रम रहेको छ । राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ देखि ३ : ३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीका जमरा लगाइदिनुहुनेछ । साथै, सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका  अधिकृत स्तरका राष्ट्रसेवकलाई पनि टीका जमरा लगाइदिनुहुने कार्यक्रम छ । 

यसैगरी दिउँसो ३ः३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई पनि राष्ट्रपति पौडेलले टीका जमरा लगाइदिनुहुने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button