तपाईँ सुन्दै हुनुहुन्छः

कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’

सोलुखुम्बु । दसैँका घमाइला दिन, जताततै रमाइलो । दसैँ मनाउनकै लागि घर फर्किनेको उत्साहपूर्ण उपस्थिति । सोलुखुम्बु सोताङका नवीन राईलाई भने यसको प्रवाह छैन । उहाँ फूलपातीकै दिन पर्यटकको भारी खोज्दै उच्च हिमाली भेग खुम्बु क्षेत्र हानिनुभएको छ । उमेरले २४ वर्ष मात्रै पुगेका राईलाई दसैँले भन्दा बढी जिम्मेवारीले थिचेको छ । त्यसैले होला फूलपातीका दिन सबै जना घर फर्किदा उहाँ भने घर छोडेर भारीको खोजीमा उकालो चढ्नुभएको छ । 

“हामीलाई के दसैँ, के तिहार ! सधैँ यस्तै हो, हाल खुम्बुमा पर्यटकीय सिजन छ, साथीहरूले विदेशी लिएर आएका छन् रे, त्यसैले भारी बोक्न हिँडेको”, लामो सुस्केरा हाल्दै राईले भन्नुभयो,“काम नगरी हुँदैन । घरमा आमा बुवा, भाइबहिनी पाल्नै पर्‍यो, यति बेला दसैँ मनाउन भनेर बस्यो भने घर कसरी चल्छ रु अब खुम्बुमै भारी बोक्दै दसैँ मनाउने हो ।”

जिल्लाका तल्लो भेगका अधिकांश युवा यति बेला काम खोज्दै खुम्बु पुगेका छन् । अन्य समयमा अध्ययनमा व्यस्त हुने विद्यार्थीहरूसमेत दसैँ बिदाको मौकामा पर्यटकको भारी बोक्न लुक्ला पुग्ने गरेका छन् । उनीहरूले भारी बोकेर दैनिक रु दुई हजारसम्म कमाउने गरेको लुक्लाका पर्यटन व्यवसायी अमृत मगरले बताउनुभयो । सल्लेरीमा बसेर क्याम्पस पढ्दै गरेका माप्यदुधकोशीका रमेश विक बिदाको समयमा अहिले नाम्चे पुग्नुभएको छ । अन्य समयमा कलेज जानुपर्ने भएकाले दसैँ, तिहारको बिदामा पर्यटकको भरियाका लागि खुम्बु आएको विकले बताउनुभयो । उहाँले भन्नुभयो, “पढाइ खर्च जोहो गर्ने सिजन नै यही हो, विदेशीको भारी बोक्दा भएको आम्दानीले पढाइ खर्च चलाउने गरेको छु ।” 

दसैँ मनाउन अन्य क्षेत्रमा घर फर्कनेको लर्को लागिरहँदा खुम्बु क्षेत्रमा भने भरियाको चहलपहलले दसैँ नै बिर्साउने गरेको छ । पिठ्युँमा गह्रौँ भारी बोकेर उकालो चढ्दै गरेका गोराखानीका प्रदीप मगरले भन्नुभयो,“हामीलाई दसैँको कुनै वास्ता छैन । यही बेला काम नगरेर बाँकी समयको गर्जो टार्न सकिँदैन । हरेक वर्ष खुम्बुमा पर्यटकको आवागमन हुने भएकाले बर्सेनि यसै गरी यहाँ आउने गरेको छु । दसैँ नमनाएको पनि पाँच÷वर्ष नै भयो । विदेशीहरू यही बेला आउँछन्, विदेशी डुलाउनु पर्छ । कसरी दसैँ मनाउनु त १”

संसारकै प्रमुख पर्यटकीय गन्तव्य मानिने सोलुखुम्बुको खुम्बु क्षेत्रमा ‘पर्यटकीय मौसम’ सुरु भएको छ । त्यसैले पर्यटन व्यवसायीहरू पनि दसैँ तिहार जस्ता चाडपर्वलाई छोडेर ट्रेकिङमा जाने गरेका छन् । खुम्बुमा हाल दैनिक तीन सय जनासम्म विदेशी पर्यटक भित्रिने गरेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको तथ्याङ्क छ । त्यसैले पर्यटन व्यवसायमा लागेका युवाहरूमा चाडपर्वको सट्टा पर्यटक आवागमनले थप उत्साह भर्ने गरेको लुक्लाका अमृत मगर बताउनुहुन्छ । “वर्ष दिनमा मनाइने दसैँ जस्ता महत्त्वपूर्ण चाडपर्व सबैको लागि विशेष नै हुन्छन् तर चाडपर्वमा रमाउने कार्यले मात्रै घरपरिवार धान्न सकिँदैन । त्यसैले साथी सँगी मिलेर विदेशीलाई खुसी पार्न यहाँ आउँछौँ । उहाँहरूको खुसीमा आफ्नो खुसी बिर्साउनुपर्छ”, उहाँको भन्नुभयो । 

पर्यटन व्यवसायमा आबद्ध अधिकांश युवाहरू यतिखेर खुम्बु पुगेका छन् । भदौ अन्तिमबाट खुम्बुमा पर्यटन सिजन सुरु भएसँगै युवाहरू चाडपर्व नभनी व्यवसायमै व्यस्त छन् । खुम्बुमा वर्षको दुई पटक पर्यटकयाम हुन्छ । पहिलो फागुन, चैत, वैशाख र असोज, अर्को कार्तिक र मङ्सिर । त्यसैले यस पटक पनि खुम्बु क्षेत्र हाल स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउ छ । 

सगरमाथासहितका हिमशृङ्खला अवलोकनका लागि आएका पर्यटकहरूले खुम्बु भरिएसँगै पर्यटकको भारी बोक्ने तथा पथप्रदर्शकका लागि युवाहरूसमेत यहाँ आउने गरेको सेर्कासिङका पर्यटन व्यवसायी डिकबहादुर दर्नालले बताउनुभयो । “यहाँ वर्षको करिब छ महिना मात्रै पर्यटक सिजन चल्ने भएकाले दसैँको भन्दा व्यवसाय चलाउने चटारो हुन्छ, यही व्यवसायबाट घर खर्चदेखि सबै गुजरा चलाउनुपर्ने भएकाले मन हुँदाहुँदै पनि चाडपर्वमा घर बस्न पाउँदैनौँ”, दर्नालले भन्नुभयो । करिब दुई दशकदेखि पर्यटक गाइडको रूपमा काम गर्दै आउनुभएका दर्नालले हरेक वर्ष यसरी नै बित्ने गरेको सुनाउनुभयो । ट्रेकिङ कम्पनीहरूले अन्य समयमा घर पठाउने र यस सिजनमा बोलाउने भएकाले चाडपर्वलाई थाँती राखेर व्यवसायमा हिँड्नुपरेको उहाँको भनाइ छ । 

हाल लुक्लामा दैनिक दुई सयभन्दा बढी हवाई उडान हुने गरेको र दैनिक एक हजार बढी पर्यटकहरू हवाई मार्गबाट खुम्बु भित्रिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीले बताउनुभयो ।  पर्यटकको चाप बढेसँगै खुम्बुका होटेल तथा लजहरू भरिभराउ भएका छन् । जसकारण व्यवसायीहरूमा पनि निकै व्यस्तता बढेको नाम्चेका होटेल व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । “अन्य समयमा खाली हुने होटेलहरू यति बेला खचाखच भरिएका छन् ।  बास पाउन मुस्किल छ”, उहाँले भन्नुभयो । 

पर्यटकको आवागमन बढ्दा यहाँका कर्मचारीलाई पनि निकै चटारो छ । लुक्ला स्थित गाउँपालिकाको जाँच केन्द्र तथा जोरसल्लेस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको चेकपोइन्टका कर्मचारीहरूमा पनि व्यस्त छन् । निकुञ्ज नाम्चेका सूचना अधिकारी मनोजकुमार मण्डलले पर्यटकको आगमन बढ्दा कर्मचारीले पनि दसैँ मनाउन पालो लगाएर जानुपरिरहेको बताउनुभयो । “थोरै कर्मचारीले धेरै पर्यटकहरूको तथ्याङ्क सङ्कलन तथा अभिलेखीकरण गर्नुपर्ने भएकाले सबैले घर जान पाउँदैनौँ । के गर्नु काम गर्नै पर्छ । यसैमा रमाइरहेका छौँ”, उहाँले सुनाउनुभयो । 

सुवास दर्नाल/रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button