तपाईँ सुन्दै हुनुहुन्छः

लोप हुँदै सखिया नाच, परम्परा जोगाउन चुनौती

बाँके । विभिन्न लोकनृत्य र सांस्कृतिक धरोहरले भरिपूर्ण थारु समुदायको बसोबास रहेको बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु गाउँमा दसैँको चहलपहलसँगै सखिया नाचको रौनक सुरु भएको छ ।
थारु समुदायमा दसैँको विशेष अवसरमा नाचिने यो नृत्यले गाउँमा विगतमा उत्साहपूर्ण वातावरण बनाउँथ्यो, तर अहिले भने यसमा कमी आएको छ। दशैं सुरु हुनु अघिको एक महिना नै गाउँहरूमा सखिया नाचको ताल गुन्जिन्थ्यो। तर, जीवनशैलीमा आएको परिवर्तनले गर्दा यो परम्परागत नाच अहिले बिरलै देख्न पाइन्छ।

शरद ऋतुको टहटह जुनेली रात, मगमगाउँदो वातावरण र धानका फाँटहरू उस्तै भए पनि, चालचलनमा भने निकै परिवर्तन आएको छ। पहिले बेलुकाको खाना खाइसकेपछि फुर्सदको समय सदुपयोग गरी गाउँका युवतीहरू सखिया नाचमा रमाउने गर्थे, जबकि युवाहरूले मादल बजाउँदै वातावरणलाई उल्लासमय बनाउँथे। कोहलपुरका थारु अगुवा दोहना थारु भन्नुहुन्छ“पहिले जस्तो उत्साह र रौनक अहिले देखिँदैन। बस्ती नै रमाइलो हुने सखिया नाचमा अहिलेको पुस्ताले कमै चासो देखाइरहेका छन्।”

सखिया नाच थारु समुदायको मौलिक सांस्कृतिक धरोहर हो, जुन दसैँको समयमा विशेष महत्वका साथ नाचिने गरिन्छ। यो नाच हरेक चाडपर्व र महोत्सवमा पनि हेर्न पाइन्छ, तर दसैँको अवसरमा यसले बेग्लै रौनक थप्छ। कोहलपुर नगरपालिका वडा नम्बर ७ की पार्वती चौधरी भन्नुहुन्छ “दसैँमा सखिया नाच हाम्रो समुदायका लागि विशेष छ। यसले हाम्रो संस्कृति र पहिचानलाई जोगाउन मद्दत पुर्‍याउँछ।”

थारु बस्तीका धेरै युवा विदेश गएर रोजगारमा व्यस्त भएको र केहीले शहरमा बसेर अध्ययन गरिरहेको हुँदा, गाउँमा सखिया नाचको धुन गुन्जिन छाडेको छ। बैजनाथ गाउँपालिका गाभरका सुदिप चौधरीले भन्नुभयो, “गाउँमा भएका युवाहरू पनि सखिया नाचको महत्वबारे अनभिज्ञ छन्। परम्परागत संस्कारहरूलाई निरन्तरता दिने नयाँ पुस्ता नै नभएको जस्तो देखिन्छ।”

सखिया नाच छोडेर युवाहरू डिजे डान्सजस्ता आधुनिक प्रवृत्तिमा रमाउने गरेका छन्। यसले थारु समुदायको परम्परागत सांस्कृतिक नाचमा गम्भीर धक्का पुर्याएको छ। कोहलपुरका आशिष थारु भन्नुहुन्छ, “हामीले परम्परागत नाचहरूलाई जीवन्त राख्नुपर्छ। डिजे डान्सको प्रभावले सखिया नाच जस्तो सांस्कृतिक सम्पदामा आँच आइरहेको छ।”

सखिया नाच भगवान श्रीकृष्णको लिलामा आधारित शास्त्रीय नृत्य हो, जुन दसैँको बेला विशेष महत्त्वका साथ नाचिन्छ। यस नाचले पाहुनालाई स्वागत गर्ने चलन पनि छ। कोहलपुर नगरपालिका वडा नम्बर १२ की कृष्ण कुमारी थारुका अनुसार, “हामीले सखिया नाचलाई निरन्तरता दिन आवश्यक छ। यो हाम्रो समुदायको पहिचान हो। यसको संरक्षणमा सम्बन्धित निकायले पनि ध्यान दिन जरुरी छ।”

यस सांस्कृतिक सम्पदालाई जोगाइराख्न थारु बुद्धिजीवीहरूले पनि जोड दिएका छन्। उनीहरूको भनाइमा, सखिया नाचले थारु समुदायको मौलिक पहिचान बोकेको हुँदा यसको संरक्षणका लागि विशेष ध्यान दिइनुपर्ने आवश्यकता छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button