तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री यादवको आग्रह : ललितपुरमा खानेपानी उपलब्ध गराउन सहयोग गरिदिनुहोस्

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले दक्षिणकालीका जनप्रतिनिधि एवं नागरिकलाई ललितपुरका नागरिकका लागि तत्काल खानेपानी आपूर्तिमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

दक्षिणकाली नगरपालिकामा आज आयोजना गरेको जनप्रतिनिधि, स्थानीय नागरिकसँगको गहन छलफल कार्यक्रममा मन्त्री यादवले हालैको बाढीपहिराले खानेपानीका थुप्रै आयोजनामा क्षति पुगेको र ललितपुर क्षेत्रमा दक्षिणकालीबाट जाने पानी रोकिएकाले उक्त पानी तत्काल आपूर्तिमा सहयोग गरिदिन आग्रह गर्नुभयो ।

खानेपानीको प्यासामा कोही तड्पाई रहेका छन्भने त्यसलाई आफूसँग भएको पानी दिनु सबैको कर्तव्य हुने भएकाले दक्षिणकालीका जनप्रतिनिधि एवं नागरिकले ललितपुर क्षेत्रका नागरिकलाई पानी आपूर्ति गर्ने विषय एउटा मानवीय धर्मको विषय भएको बताउनुभयो ।

बाढीपहिरो लगायत समस्याले अहिले देश विपद्मा र समस्यामा परेकाले हामी सबै नेपालीले एक अर्कालाई मानवीय सहयोग गर्नका लागि एकजुट हुनुपर्ने मन्त्री यादवको भनाइ थियो ।

यसैगरी मन्त्री यादवले केही दिन पहिले गएको बाढीपहिरोका कारण दक्षिणकालीमा खानेपानीको क्षेत्रमा भएका तथा अन्य समस्याका विषयमा सरकारले मन्त्रीपरिषद्को निर्णयबाट आवश्यक सहयोग गर्ने निर्णय समेत गरेको जानकारी दिनुभयो ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले दक्षिणकाली नगरपालिकाका समस्या सम्बोधन गर्न आफूले सङ्घीय सरकारसँग सहजीकरण र समन्वय गर्ने बताउनुभयो । उ

ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले दक्षिणकाली नगरपालिकासँग सहकार्य गर्न आफू सदैव तयार रहेको बताउनुभयो ।

आजै मन्त्री यादवले फर्पिङ र दक्षिणकाली क्षेत्रको अवलोकन भ्रमण गरेर पानीको स्रोत र वितरण प्रणालीको वर्तमान अवस्थाबारे विस्तृत जानकारी लिनुभएको थियो ।

सो कार्यक्रममा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, उपप्रमुख बसन्ती तामाङ डङ्गोल, जनप्रतिनिधि लगायतका आम नागरिकले बाढीबाट खानेपानीका क्षेत्र तथा आम नागरिकका भएका क्षतिलाई राज्यले तत्काल सम्बोधन गरी आवश्यक पर्ने सबै सहयोग गर्नु पर्ने, दक्षिणकाली क्षेत्रका मुहानबाट खानेपानी लैजाँदा सङ्घीय सरकारले दक्षिणकाली नगरपालिकालाई वार्षिक बजेटमार्फत थप बजेट पठाउनुपर्ने माग राख्नुभएको थियो ।

आफ्ना मागका विषयमा राज्यले सम्बोधन गरे दक्षिणकालीबाट ललितपुरमा पानी पठाउनका लागि आफूहरू जति बेला पनि तयार समेत रहेको उहाँहरूले प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button