तपाईँ सुन्दै हुनुहुन्छः

बाढीपहिरो पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छ : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बाढी पहिरो पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको बताउनुभएको छ ।

फास्ट फुड एसोसिएसन नेपालले आज यहाँ आयोजना गरेको ‘कर प्रशिक्षण’ कार्यक्रममा उहाँले चाडपर्व प्रारम्भ हुन लागेका बेला बाढी पहिरोबाट देश र जनताले भोग्नुपरेको अकल्पनीय परिस्थितिप्रति सरकार संवेदनशील रहेको तथा पीडितलाई राज्यका निकायबाट सक्दो सहयोग गर्नुपर्छ भन्नेमा कसैको विमति नरहेको बताउनुभयो ।

“देशका विभिन्न स्थानमा एकै पटक बाढी पहिरोबाट मानवीय क्षति भयो, सडक सञ्जाल विच्छेद भयो, कैयौँ नागरिक घरबारविहीन भएका छन् । यस्तो जटिल अवस्थामा सरकारले सम्बन्धित निकायलाई परिचालन गरेर सहायता परिचालन गरिरहेको छ,” मन्त्री गुरुङले भन्नुभयो । उहाँले दसैँ तिहारमा यातायात सेवा सहज ढङ्गले सञ्चालन गर्न सरकार कटिबद्ध रहेको तथा सडक विभागसँगको समन्वयमा अवरोध भएका स्थानमा युद्धस्तरमा काम भइरहेको बताउनुभयो ।

फरक प्रसङ्गमा सञ्चार मन्त्रीले लगानीमैत्री वातावरण बनाउन सरकार लागिपरेको, लगानी बढेपछि सेवा क्षेत्र विस्तार भई रोजगारीका अवसर सृजना हुने भएकाले त्यसप्रति नै सरकारले ध्यान दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थिर सरकार भएन भने नीतिगत स्थायित्व हुँदैन । नीतिगत स्थायित्व भएन भने विकास र समृद्धिले फड्को मार्न सक्दैन । राजनीतिक स्थायित्वका लागि नेकपा एमालेले नेपाली काँग्रेससँग सहकार्य गरेको हो ।”

नेपाली जनताले तत्काल परिणाम खोजेका तर नीतिगत सुधार गरी त्यसलाई कार्यान्वयनमा लैजान केही समय लाग्ने भएकाले तत्काल परिणामको अपेक्षा गर्नु स्वाभाविक नहुने तर्क उहाँले गर्नुभयो । जनताले महसुस गर्ने गरी परिणाम निकाल्न सरकार क्रियाशील रहेको उहाँको भनाइ थियो ।

त्यस अवसरमा एसियाली खेलकुदमा पदक विजेता एरिका गुरुङ, सेफ गोविन्द नरसिंह केसी लगायत उच्च शिक्षा हासिल गरेका ‘फास्ट फुड’ व्यवसायीका सन्तति, लायन्स क्लब लगायत सामाजिक सङ्घसंस्थालाई सम्मान गरिएको एशोसियसनका अध्यक्ष राजु श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button