तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा बने दुई अस्पताल, दुई अधुरै

वीरगञ्ज (पर्सा)।सङ्घीय सरकारले पर्सामा चारवटा आधारभूत अस्पताल निर्माण गर्ने घोषणा गरेकामा हालसम्म दुई अस्पताल भवनमात्र निर्माण छन्भने दुईवटाको काम अधुरै छ ।

पटेर्वा सुगौली गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आइसकेको छभने र ठोरी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न भएर रङरोगनको काम भइरहेको छ । पटेर्वा सुगौलीमा निर्माण भएको आधारभूत अस्पतालबाट सेवा प्रवाह भइरहेको छ ।

पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेशकुमार चौधरीले निरन्तरको पहलकदमीका कारण आधारभूत अस्पताल भवन निर्माण गरेर सेवा प्रवाह भएको बताउनुभयो ।

ठोरी गाउँपालिकामा निर्माणाधीन १५ शय््याको आधारभूत अस्पताल भवनमा धमाधम रङरोगनको काम भइरहेको छ । उक्त गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरीको १५ शय्याको अस्पताल भवन निर्माण प्रायः पूरा भएको बताउनुभयो ।

पर्सामा निर्माण हुनुपर्ने अन्य दुई आधारभूत अस्पतालको काममा भने प्रगति भएको छैन । धोबिनी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल निर्माणमा ढिलासुस्ती भएको छ ।

धोबिनी गाउँपालिकाका अध्यक्ष मदनप्रसाद चौहानले पालिकामा निर्माणाधीन आधारभूत अस्पतालको भौतिक प्रगति २५ प्रतिशत भएको बताउनुभयो । यसैगरी जिराभवानीमा निर्माणाधीन १० शय्याको अस्पतालको प्रगति पनि २० प्रतिशतभन्दा अधिक भएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा २०७७ साल मङ्सिर १५ गते मुलुकभरका तीन सय ९६ वटा पालिकामा पाँचदेखि १५ शय्याको आधारभूत अस्पताल निर्माणको एकसाथ शिलान्यास गर्नुभएको थियो । त्यसबेला तीन सय ९६ वटा अस्पताल दुई वर्षभित्रै निर्माण सम्पन्न गर्न रु ५८ अर्ब बजेट लाग्ने बताइएको थियो ।

सरकारले सुरुमा १५ शय्याको अस्पतालका लागि रु १८ करोड छ लाख ८२ हजार, १० शय्याका लागि रु १० करोड ८३ लाख ३६ हजार र पाँच शय्याको अस्पतालको लागि रु सात करोड ११ लाख ९७ हजार लाग्ने बताएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button