तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरोपछि संक्रमण फैलन नदिन स्वास्थ्यमन्त्री पौडेलद्वारा सर्वपक्षीय बैठक

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बाढी पहिरो जस्ता विपद्पछि सङ्क्रामक रोग फैलन नदिन सतर्कता उपाय अपनाउन तीनवटै तह, खानेपानी मन्त्रालय तथा खानेपानीसम्बद्ध अधिकारीहरूसँग आग्रह गरेका छन् । 

मन्त्रालयमा विशेष बैठक डाक्दै उनले बाढी पहिरो पछि पानीका श्रोत प्रदूषित भएको र यसकै कारण झाडापखाला, हैजा तथा डेंगुलगायतका सङ्क्रामक रोग लाग्न नदिन आ आफ्नो तर्फबाट तयारी बढाउन र आवश्यक परेका सहयोगबारे जानकारी गराउन आग्रह गरे । 

विपद्का समयमा स्वास्थ्यकर्मीहरुले पुर्याएको योगदानको प्रशंसा गर्दै मन्त्री पौडेलले भने, स्वास्थ्यकर्मीहरुले विपद्का समयमा बिरामीको उपचारका लागि पुर्याएको भूमिका सराहनीय छ, अब यसपछि फैलन सक्ने रोगबाट नागरिकलाई जोगाउन लाग्नुहोला । आवश्यक केही परे भन्नुस्, हामी सघाउन तयार छौँ । 

उहाँले खानेपानीको शुद्धता बढाउन र कुनै पनि सङ्क्रामक रोग फैलन नदिन स्थानीय तहसम्मै खानेपानी मन्त्रालय र प्रदेश तथा स्थानीय सरकारहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । यसका लागि मातहतका सबै निकायलाई परेको अप्ठेरो फुकाउन मन्त्रालय लाग्ने उहाँले बताउनुभयो । 

बैठकमा बोल्दै खानेपानी मन्त्री प्रदीप यादवले सहकार्यको प्रस्तावका लागि मन्त्री पौडेललाई धन्यवाद दिँदै पानीको शुद्धता बढाएर नागरिकलाई शुद्ध पानी दिनका लागि शुद्धीकरण सामग्री वितरण तथा सचेतनाका लागि स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्ने घोषणा गर्नुभयो । 

बैठकमा बाढी पहिरोबाट बढी प्रभावित काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, कोशी, मधेश तथा गण्डकीलगायत प्रदेशका स्वास्थ्य सचिवहरूले आफूहरूले प्रदान गरिरहेको सेवाबारे जानकारी गराउँदै पानीको शुद्धीकरण तथा सचेतना फैलाउन मन्त्रालयको सहयोग मागेका थिए । 

मन्त्री पौडेलले दुइवटै मन्त्रालय मिलेर तत्काल सहयोग माग भएका ठाउँमा पठाउने र आवश्यक परेका ठाउँमा विशेष स्वास्थ्य टोली खटाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले संघीय राजधानी उपत्यकामा जनसङ्ख्या पनि बढी रहेको र अहिले सङ्क्रमणको जोखिम बढी रहेकाले बढी प्राथमिकता दिएर संक्रमण रोक्न सचेतनासँगै रोकथामका उपाय अपनाइने बताउनुभयो । यसका लागि प्रदेश र महानगरहरूसँग हातेमालो गर्ने पनि उहाँले बताउनुभयो ।

ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले बाढीका कारण खानेपानी प्रदूषित भएकाले आफूहरूले ट्याङ्करबाट किनेरै क्लोरिनेशन गरेर पानी वितरण गरेको बताउनुभयो । 

बैठकमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मन्त्रीको निर्देशनअनुसार तत्काल बैठक डाकेर आवश्यक ठाउँमा थप स्वास्थ्य सामग्री पठाउने र सचेतना तथा संक्रमण रोक्न नदिन आवश्यक थप कदमहरू चाल्ने प्रतिबद्धता जनाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button