तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले मृत्यु भएका परिवारलाई मधेश प्रदेश सरकारले एक लाख राहत दिने 

जनकपुरधाम । असोज ११ र १२ गतेको अविरल बर्खापछि आएको बाढी, पहिरो तथा डुबानमा परी मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा दुःखद निधन भएकाहरूको परिवारलाई मधेश प्रदेश सरकारले एक लाख रुपैयाँका दरले राहत दिइने भएको छ ।  

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले  विपत ज्यान गुमाउने मृतकप्रति हार्दिक श्रद्धाञ्जली एवम् शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै प्रदेश सरकारले एक लाख सहयोग गर्ने जानकारी दिनु भएको हो ।  

मुख्यमन्त्री सिंहले निरन्तर तथा तीव्र बर्खाका कारण बाढी, पहिरो तथा डुबानजन्य विपद्बाट प्रभावित प्रदेशवासीलाई राहत पुर्‍याउन एकद्वार प्रणाली अवलम्बन गर्न प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।  

उहाँले बर्खा तथा बाढीबाट प्रभावित बस्तीमा राहत तथा पुनर्स्थापना कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन स्थानीय तहहरूलाई पनि आग्रह गर्नु भएको छ । 

मुख्यमन्त्री सिंहले विपद्का बेला मधेश प्रदेशमा खोज, उद्धार एवं तत्काल राहत कार्यको व्यवस्थापनमा सक्रिय स्थानीय तह, सुरक्षा अधिकारी, सुरक्षाकर्मी तथा अन्य क्षेत्रलाई धन्यवादसमेत दिनु भएको छ ।  

मुख्यमन्त्री सिंहले यसअघि नै बर्खा बाढीबाट प्रभावित गाउँ बस्तीमा पुनर्स्थापनाका काम गर्न स्थानीय तह र विभिन्न स्थानीय तहलाई कार्यक्षेत्र बनाई काम गर्दैआएका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थालाई आह्वान समेत गर्नु भएको छ । 

बर्खा र बाढीका कारण कृषि, सिँचाइ, भौतिक पूर्वाधारलगायत क्षेत्रमा भएका क्षतिका विषयमा विवरण सङ्कलन भइरहेको जानकारी दिँदै मुख्यमन्त्री सिंहले त्यसअनुरूप राहत तथा पुनर्स्थापना कार्यमा सहजीकरण गर्न प्रदेशका मन्त्रालयहरू तथा मातहतका निकायलाई निर्देशन दिइएको जानकारी दिनु भयो । 

मधेश प्रदेशका विभिन्न जिल्लाबाट करिब १ दर्जन भन्दा बढी व्यक्तिको हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु भएको मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री राजकुमार लेखीले जानकारी दिनु भयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button