तपाईँ सुन्दै हुनुहुन्छः

कास्की दरबारमा राष्ट्र शान्तिको कामना गर्दै नवदुर्गा महोत्सव हुने

कास्की । कास्की दरबारमा रहेको गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ । गुप्तकाली कश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा बडा दशैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो ।

परापूर्व कालदेखि तान्त्रिक तथा वैदिक पूजा हुँदै आएको मन्दिरमा यस वर्ष देशमा आएको बाढी पहिरो तथा प्राकृतिक प्रकोपबाट मानवीय तथा भौतिक क्षति नहोस् भन्दै शान्तिको कामनार्थ घटस्थापनादेखि दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर गुप्तकालिकाको पूजा गरिने धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष दिलीपविक्रम शाहीले बताउनुभयो ।

घटस्थापनाको दिन असोज १७ गते विधिवत् रुपमा कोतमा प्रवेश गरी नवदुर्गाभर विशेष रुपमा चण्डी पाठ दुर्गा कबज हुने धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले बताउनु भयो । त्रिपाठीका अनुसार कास्कीकोट गुप्तकालिका मन्दिरमा परापूर्वकालदेखि पर्व विशेषमा विभिन्न गतिविधि सञ्चालन हुँदै आएका छन् । यस वर्षको बडा दशैंको १० दिनसम्म कोतघरमा पाणा पुजारीसहित राष्ट्र शान्तिको कामना गर्दै विशेष पूजा गरिने भएको हो । तान्त्रिक तथा वैदिक पूजा हुने त्रिपाठीले बताउनु भयो  ।

बडादशैंको फूलपातीमा पोखराको रामघाटबाट लगेको फूलको डोली विधिवत् मन्दिर प्रवेश गराएर नवपत्रिकाको तान्त्रिक पूजा गरिने प्रचलन रहेको छ । त्रिपाठीले भन्नु भयो फूलपातीकै दिन कुँवर जातिको लोपोन्मुख सैन्य अभ्यास सरुन खेल समेत प्रदर्शन गरिने कार्यक्रम रहेको छ । अष्टमीको दिन मध्यरातमा कालरात्रिको पूजा र नवमीमा पञ्चवली दिने गरिन्छ । दशमीमा मन्दिरमा टीका ग्रहण गरी वास्पानीकालीकामा फुलपत्र सहित पूजा विर्सजन हुने छ । कास्कीकोटमा नेपालमा नै लोपोन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिने सचिव त्रिपाठीले जानकारी दिनु भयो  । 

कास्कीकोटमा दशैंकाे बेलामा बजाइने नगरा, सत्रौँ शताब्दीका ढाल तरबारहरू लगायत तोपहरूको समेत प्रदर्शन गरिने मन्दिरका अमाली खिमबहादुर कार्कीले बताउनु भयो । यहाँ पूजा र पञ्चबली भाकल गर्नेहरूको दैनिक भिड लाग्छ । गुप्तकालिका मन्दिरमा कास्की राज्यको स्थापनासँगै यहाँ हरेक दशैंमा विशेष पूजा हुँदै आएको छ । यस ठाउँबाट नै कास्की जिल्लाको नामकरण भएको किंवदन्ती रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button