तपाईँ सुन्दै हुनुहुन्छः

उद्धारको पर्खाइमा गुरुकुलका ३३ जना

सिन्धुली । सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका ३३ जना नदीको बीचमा फेसका छन् । गुरुकुलका २६ बटुक (विद्यार्थी), तीन शिक्षक, दुई कर्मचारी र दुई जना मन्दिरका पुजारी शुक्रबार रातिदेखि बाढीमा फसेका हुन् ।

सुनकोशी नदीमा जलसतह बढेर मन्दिरसम्म पुगेर रोशी खोलाले मन्दिरको दुवै तर्फबाट च्यापेकाले कतै भाग्ने अवस्था नरहेको गुरुकुलका शिक्षक नारायण घिमिरेले बताउनुभयो । बिहीबारदेखि परेको अविरल वर्षासँगै सुनकोशी र रोशी नदीमा आएको बाढीले मन्दिरको चारैतिर च्यापेपछि सुरक्षित स्थानमा जान नसकिएको उहाँले उल्लेख गर्नुभयो ।

विपद् व्यवस्थापनका सबै संयन्त्रमा खबर गरी उद्धारको प्रयास भए पनि अहिलेसम्म उद्धार गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले बताउनुभयो । “हामी उहाँहरूको उद्धारका लागि प्रयास गरिरहेका छौँ । गएराति पर्ख र हेर भन्ने बाहेक कुनै विकल्पले काम गरेन”, उहाँले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द काफ्लेले मन्दिर परिसरमा बाडीमा फसेका ३३ जनालाई उद्धार गर्न स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी शुक्रबारदेखि पहल गरिरहेको जानकारी दिनुभयो ।

रोशी र सुनकोशी नदीमा आएको बाढीले सुनकोशी गाउँपालिका–५ मुल्कोट र गोलञ्जोर गाउँपालिका–७ खुर्कोट बजार डुबानमा परेका छन् । साथै दुम्जाका पाँच घर बगाएको छ । दुम्जा र नेपालथोक बीचमा एक सय मिटर बिपी राजमार्ग बाढीले बगाएपछि शुक्रबारदेखि आवतजावत बन्द भएको प्रमुख प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

सुनकोशी, कमला र बागमती नदीले खतराको तह पार गरेका छन् । अविरल वर्षा भइरहेकाले बाढीपहिरोको जोखिम बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित र सर्तक रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button