तपाईँ सुन्दै हुनुहुन्छः

सामागाउँमा हेलिकप्टर उडानमा स्थानीयको रोक

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका सामागाउँका बासिन्दाले उत्तरी गोरखामा हेलिकप्टर उडानमा रोक लगाएसँगै पर्यटकहरू मर्कामा परेका छन् ।

सामागाउँको हेलिप्याडमा जम्मा भएर गाउँलेहरूले हेलिकप्टर ल्याण्ड गर्न दिएनन् । विरोधमा गाउँलेहरूले हेलिप्याडमा ढुङ्गा थुपारेका छन् ।

गाउँलेहरूको भेला गरेर यसअघि निषेधित क्षेत्र खुल्ला गर्नुपर्ने, हेलिकप्टर उडान प्रक्रिया सहज बनाउनुपर्ने लगायतका माग राखेका थिए । सम्बन्धित निकायले आफ्नो मागलाई बेवास्ता गरेका कारण हेली उडानमा रोक लगाइएको स्थानीय धन बहादुर लामाले बताउनुभयो ।

स्थानीयले हेलिकप्टर उडानमा रोक लगाएपछि मनास्लु क्षेत्र पुगेका पर्यटकहरू अलपत्र परेका छन् । मनास्लु हिमाल आरोहण गरेर सामागाउँ आइपुगेका पर्यटकहरू हेलिकप्टरबाट काठमाडौँ फर्किने गर्छन् । हेलिकप्टर जान नपाएपछि पर्यटकहरू सामागाउँमा रोकिएका हुन् ।

यस सिजनका लागि पर्यटन विभागबाट अनुमति लिएका तीन सय आठ जना आरोही अहिले सहयोगीका साथमा मनास्लु बेसक्याम्पमा आरोहण अभ्यास गरिरहेका छन् । शनिबारदेखि मङ्गलवारसम्म २ सय ४० जना विदेशी पर्यटक मनास्लु क्षेत्र भ्रमणमा आइपुगेका मनास्लु संरक्षण क्षेत्र एमक्यापले जनाएको छ । हेलिकप्टरमार्फत मनास्लु क्षेत्र आउन खोजेका पर्यटकहरू बन्दका कारण काठमाडाँैमा रोकिएका छन् ।

समस्याको समाधानका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button