तपाईँ सुन्दै हुनुहुन्छः

निष्पक्ष अनुसन्धानमा सहयोग गर्न आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले विगत केही दिनदेखि देशमा विकसित विभिन्न घटनाक्रम र त्यसबाट शान्ति सुरक्षा एवं मानव अधिकारको संरक्षणमा पर्नसक्ने प्रतिकूल प्रभावप्रति ध्यानाकर्षण भएको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा कसैले पनि घृणायुक्त अभिव्यक्ति नदिन तथा कानुनको सम्मान गर्दै अनुसन्धान प्रक्रियामा सहयोग गर्न समेत आयोग सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ ।

“कानुनको कार्यान्वयनमा पूर्वाग्रह भएको, दुराशय राखी पक्राउ गरिएको, पक्राउ गरिएका व्यक्तिप्रति मानवोचित व्यवहार नभएको र स्वास्थ्य उपचारमा पूर्वाग्रही भएकोजस्ता सूचनाहरू आयोगमा प्राप्त भएका छन्”, विज्ञप्तिमा भनिएको छ, “प्राप्त सबै सूचनाको आयोगले अनुगमन गरिरहेको छ, पक्राउ र आरोपको पक्ष विपक्षमा भएका गतिविधिबाट नागरिकको मानव अधिकार संरक्षण र शान्ति सुरक्षामा प्रभाव परिरहेको देखिएको छ ।”

फौजदारी कसुरमा छानबिन तथा अनुसन्धान गर्ने सन्दर्भमा राज्यको तर्फबाट हुनसक्ने पूर्वाग्रहपूर्ण व्यवहार र आरोपीको तर्फबाट प्रचलित कानुनी विधि र प्रक्रिया विपरीत व्यक्त हुने घृणायुक्त अभिव्यक्तिबाट यस प्रकारको अवस्था नआओस् भन्नेतर्फ सबै सचेत रहन आवश्यक भएको आयोगले जनाएको छ ।

फौजदारी मुद्दामा निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान हुन सकेमा मात्र देशमा मानव अधिकार र कानुनी शासनको स्थापना हुन्छ भन्ने कुरामा विवाद हुन नसक्ने आयोगको भनाइ छ ।

आपराधिक घटनाको अनुसन्धानलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि नगर्न नगराउन, नियन्त्रणमा लिएका अभियुक्तको स्वास्थ्योपचारमा विना भेदभाव चिकित्सकीय जिम्मेवारी र कर्तव्य निर्वाह गर्न, आपराधिक घटनाको सूक्ष्म र वैज्ञानिक अनुसन्धानमा जोड दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button