तपाईँ सुन्दै हुनुहुन्छः

दसैँका लागि कर्णालीमा सहुलियतको नुन पठाउन चटारो

नेपालगञ्ज । साल्ट टे«डिङ कर्पोरेशन लिमिटेड नेपालगञ्जलाई अहिले भ्याइनभ्याई छ । दशैं नजिकिँदै गर्दा भारतबाट नुन ल्याउने र प्याकिङ गरेर पहाडी तथा हिमाली जिल्लामा पठाउन चटारो छ ।

कर्णाली प्रदेश कार्यालयको मुकामको रुपमा रहेको नेपालगञ्ज कार्यालयले बाँके र बर्दियासँगै कर्णाली प्रदेशका जिल्लामा नुन पठाउने गर्दछ । दशैं र तिहारलाई लक्षित गरेर अहिले ट्रकमा आएको नुन झार्न र प्याकिङ गर्न कर्मचारी भ्याइनभ्याई भएको हो । दशैं, तिहार जस्ता ठूला चाडबाडमा नुनको अभाव हुन नदिन कार्यालयले हरसम्भव प्रयास गरिरहेको जनाएको छ ।

भारतको गुजरातबाट सीतापुरसम्म रेल र त्यहाँबाट ट्रकमा नुन आउँछ । त्यो नुनलाई नेपालगञ्जमा ल्याएर प्याकिङ गरी ढुवानी गर्ने गरिन्छ । कर्पोरेशनले आयो नुन २६ र न्यू शक्ति २० रुपैयाँ प्याकेटमा बेच्ने गर्छ । हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालिकोट, जाजरकोट, रुकुम र रोल्पामा कर्पोरेशनले ढुवानी अनुदान दिइएको ‘भानु नुन’ बिक्री गर्ने गर्छ । यो नुनको मूल्य प्रति प्याकेट नौ रुपैयाँ पर्छ । भानु नुन बजारमा बिक्री वितरण गर्न पाइँदैन । जनसङ्ख्याको आधारमा कोटा छुट्याएर सरकारले यी जिल्लामा सहुलियतमा भानु नुन दिँदै आएको छ । भानु नुन वर्षमा ३५ हजार क्विन्टल जाने कर्पोरेशनका प्रबन्धक मनोज चौधरीले जानकारी दिनुभयो ।

सरकारको सहुलियतले गर्दा हिमाली जिल्लामा नुन आधा बढी सस्तो छ । सरकारले नुनको मूल्यभन्दा ढुवानी खर्च बढी व्यहोर्ने गर्छ । कार्यालयका प्रमुख चौधरीले ५० लाख नुनको मूल्य पर्दा ढुवानी खर्च डेढ करोड हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button