तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकले दुःख नपाउने गरि सडक यातायातको व्यवस्था मिलाउन मुख्यमन्त्री कडेलको निर्देशन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले नागरिकले दुःख नपाउने गरि यातायातको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशले आज वीरेन्द्रनगरमा सुरक्षा निकाय, यातायात व्यवसायी तथा यातायात क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूसँग गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री कडेलले यातायात क्षेत्रलाई जति प्रतिस्पर्धी बनायो त्यति नै नागरिकले सेवा पाउने हुँदा नागरिकलाई सुविधा हुने गरि यातायात क्षेत्रलाई प्रतिस्पर्धी बनाउन पनि व्यवसायीलाई सुझाव दिनुभयो ।

“तपाईँहरूका पनि आ—आफ्ना बाध्यता छन् होला तर जति प्रतिस्पर्धी बन्नुहुन्छ नागरिकले त्यति नै सुविधा पाउँछन्, नागरिकलाई सुविधा दिने दायित्व पनि तपाईँहरूकै हो ।” उहाँले भन्नुभयो ।

कार्यक्रममा मुख्यमन्त्री कडेलले सुरक्षा चेकजाँचलाई थप सहज बनाउन पनि निर्देशन दिनुभयो । राजमार्गमा यात्रु चेकजाँचको नाममा ठाउँमा ठाउँमा चेकजाँच हुने यातायात व्यवसायीले गुनासो गरेपछि मुख्यमन्त्री कडेलले सुरक्षा चेकजाँच गर्ने अधिकार भएपनि आवश्यकताको आधारमा राजमार्गमा चेकजाँचको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

“तपाईँहरूले आवश्यकताको आधारमा जहाँ पनि चेकजाँच गर्न सक्नुहुन्छ तर आवश्यकता नदेखिएको ठाउँमा चेकजाँच गर्ने कुराले यात्रुले अनाहकमा दुख पाउँछन् त्यसलाई कसरी हो सुधार्नेतर्फ ध्यान दिनुहोला ।”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री कडेलले जनशक्ति र साधन श्रोतको अभावका कारण पनि ट्राफिक प्रहरीले देखाएको सक्रियताको प्रशंसा गर्नुहुँदै कर्णाली प्रवेशद्वारको मुख्य नाकामा सवारी साधनको डिजिटल रेकर्ड र संवेदनशील स्थानहरूमा सीसी क्यामेरा राख्न प्रदेश सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले नगर क्षेत्रको पार्किङ व्यवस्थापनलाई नयाँ तरिकाले संवोधन गर्न लागिएको बताउनुभयो । उहाँले बजारको चाप बढेसँग अहिलेको पार्किङको व्यवस्था साँघुरो हुने हुँदा यसलाई व्यवस्थित गर्ने तयारी भइरहेको बताउनुभयो।

कर्णाली प्रदेश प्रहरी कार्यालय निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले अरू बेलाभन्दा चाडबाडको बेला दुर्घटनाको जोखिम बढी हुने भएकोले प्रदेश प्रहरी कार्यालयले नियमितसँगै चाँडवाड लक्षित सडक सुरक्षा बनाएको जानकारी दिनुभयो ।

कर्णाली ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अपिलराज बोहराले एक जना प्रहरीले ३८ किलोसम्म हेर्नुपर्ने भन्नुहुँदै जनशक्ति र साधन श्रोतको अभावमा पनि अपेक्षित काम गर्न नसकिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button