तपाईँ सुन्दै हुनुहुन्छः

पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यक: मुख्यमन्त्री आचार्य

देउखुरी । लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रम गरेर संविधान दिवस सम्पन्न गरेको छ । असोज २, ३ र ४ गते तीन दिन विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइएको हो । दिवसको अन्तिम दिन शुक्रवार वृक्षारोपण गरेर संविधान दिवस औपचारिक रुपमा समापन गरिएको छ । 

राप्ती गाउँपालिका–३ स्थित घण्टदेव सामुदायिक वन क्षेत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वृक्षारोपण गर्दै संविधान दिवसको अवसरमा आयोजित सबै औपचारिक कार्यक्रमहरू भव्यरुपमा सम्पन्न भएको घोषणा गर्नु भयो । दिवसलाई भव्य बनाउन सहयोग गर्ने आम सर्वसाधारण नागरिक सहित सरोकारवाला पक्ष सबैमा धन्यवाद ज्ञापन गर्नु भयो । ‘संविधान दिवसलाई भव्य बनाउन सहयोग गर्न सबै प्रति आभार व्यक्त गर्दछु’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘संविधान कार्यान्वयन प्रमुख सवाल हो । प्रदेशलाई बलियो बनाउन संविधान कार्यान्वयनमा सबै जुटौँ ।’ 

वन, वातावरण तथा जैविक विविधताको संरक्षणबाट मात्रै पारिस्थितिक प्रणाली जोगाई राख्न सकिने बताउनु भयो । यसका लागी वातावरण मैत्री व्यवहार गर्न सबैमा आग्रह गर्नु भयो । प्रमुख सचिव महादेव पन्थले वृक्षारोपणले संविधान दिवसको सान्दर्भिकता पुष्टि गरेको बताउनु भयो ।‘एउटा बिरुवाको हुर्काइ सँग त्यसको भविष्य जोडिएको हुन्छ । जसरी आज बिरुवा रोपिएको छ । यसको हेरचाह र व्यवस्थापन गरेको खण्डमा यसको आयु र हुर्काई छिटो हुन्छ । त्यसैगरी संविधान पनि एउटा बिरुवा जस्तै परिपक्व र त्यसले सबैलाई लाभ दिँदै जान्छ’उहाँले उदाहरण दिँदै भन्नुभयो,‘संविधानलाई कार्यान्वयन गर्दै यसले दिने उपलब्धिलाई नागरिक माझ पुर्‍याउनु छ ।’

लुम्बिनीमा असोज ३ गते संविधान दिवस मुल समारोह आयोजना गरिएको थियो । त्यस अघि असोज २ गते प्रदेश स्थित सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा फहराइएको थियो भने कार्यालय परिसरमा सरसफाई, स्वास्थ्य मन्त्रालयको समन्वयमा रक्तदान गरिएको थियो । संविधान कार्यान्वयनको पहिलो दशक: उपलब्धी र चुनौती विषय विज्ञ सँग छलफल गरेर निकासको समेत खोजी गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button