तपाईँ सुन्दै हुनुहुन्छः

दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसको अवसरमा काठमाडौँको दरबारमार्गमा आज नागरिक स्तरबाट साङ्गीतिक कार्यक्रम नेशनल डे कन्सर्टको आयोजना गरिएको छ ।

नेशनल डे कन्सर्टमा सर्वसाधारणहरूले हातमा नेपालको राष्ट्रिय झण्डा बोकेर उत्सव मनाइरहेका छन् भने राष्ट्रिय स्तरका कलाकारहरूले आफ्नो साङ्गीतिक प्रस्तुती दिनुभएको छ । 

कन्सर्ट अवलोकन तथा त्यहाँ उपस्थित भएका जनसमुदायलाई उत्साहित बनाउन प्रधानमन्त्री केपी शर्मा ओली समारोह स्थलमा उपस्थित हुनुभयो । 

त्यस अवसरमा प्रधानमन्त्री ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१को सबैमा शुभकामना दिनुहुँदै संविधानको सफल कार्यान्वयन गरी जनताको अपेक्षा अनुसार वर्तमान सरकार अगाडि बढिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सबैको साथ र सहकार्यबाट नेपालाई समृद्ध बनाउनेगरी काम गर्नुपर्ने आवश्यकतामा पनि त्यस अवसरमा जोड दिनुभयो । 

यस्तै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगै अन्य विशिष्ट व्यक्तिहरूको समेत समारोहमा उपस्थित थियो । 

संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रुपमा मनाइँदै आएको छ ।

साङ्गीतिक कार्यक्रम अवधिभर दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ भने काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्था चुस्त पारिएको छ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button