तपाईँ सुन्दै हुनुहुन्छः

संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम् प्रयास गरिनेछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रक्रियामा सरकारका रहेका दलको संसद्को गणितीय सङ्ख्यालाई मात्र नहेरी सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम् प्रयास गरिने स्पष्ट गर्नुभएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ का अवसरमा मूल समारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानलाई समयानुकूल बनाउँदै अमिल्दा विषय र राजनीतिक तहमा देखिएको अस्थिरताको केही हदसम्म सम्बोधन संविधान संशोधनले गर्ने विश्वास व्यक्त गर्नुभयो । 

संविधानमा लेखिएको कुरा व्यवहारमा लागु होस् भन्ने आम नागरिकको भावनालाई कदर गर्दै यस संविधानलाई जनसंविधानका रुपमा लिएर संविधान दिवसलाई औपचारिक मात्र नभई नागरिकस्तरमा भव्यरुपमा मनाउन पनि प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । “संविधानमा लेखिएका कतिपय अधिकारहरू नागरिकका जीवनमा अनुदित भएका छैनन् । संविधानलाई जीवनमय बनाउन राज्य र नागरिक दुवै पक्षको प्रयास जरुरी छ । संविधानलाई जीवनमय बनाउने बाहेक यो सरकारसँग अरू कुनै मुद्दा छैन ।’’, संविधान दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री ओलीले भन्नुभयो, “युवा पुस्तासँग भएको ऊर्जा, हुटहुटी र सपनाको सही उपयोग हुनुपर्छ । युवाहरूलाई म भन्न चाहन्छु, तपाईँहरूसँग केही गरौँ भन्ने आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला ।’’

प्रधानमन्त्री ओलीले समाजमा अनुशासन र सामाजिक व्यवस्था तथा मर्यादाको पालनाका लागि स्मरण गराउँदै भीडतन्त्र र अराजकता लोकतन्त्र अनुकूल हुन नसक्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button