तपाईँ सुन्दै हुनुहुन्छः

संविधान दिवसको अवसरमा रेडियो नेपालद्वारा वृक्षारोपण (फोटोफिचर)

काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा आज ललितपुरको खुमलटारमा रहेको रेडियो नेपालको रिले स्टेशन परिसरमा वृक्षारोपण गरिएको छ ।

वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्नुहुँदै रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले लामो इतिहास बोकेको गौरवशाली संस्थाका रुपमा रहेको रेडियो नेपालले संविधान दिवसका अवसरमा आयोजना गरेको वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणमा राम्रो सन्देश दिने बताउनभयो ।

सञ्चार सचिव अर्यालले असोज २, ३ र ४ गते सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको उल्लेख गर्नुहुँदै विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ यस दिवसलाई सफल बनाउनु सबैको दायित्व भएको पनि बताउनुभयो ।

त्यस अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले रेडियो नेपालले सत्यतथ्य र भरपर्दो समाचार तथा सूचना सम्प्रेषण गर्नुसँगै वातावरण संरक्षणलगायत अन्य जनचेतनामूलक कामहरूमा समेत सहभागी हुँदै आएको बताउनुभयो ।

कार्यकारी निर्देशक लामाले संविधान दिवसका अवसरमा रोपिएका बिरुवाहरूको संरक्षण गरी त्यस क्षेत्रको वातावरण सन्तुलनमा मद्दत पुग्ने गरी आफु र रेडियो नेपालका कर्मचारीहरू लागिरहने पनि बताउनुभयो ।

सञ्चार सचिव राधिका अर्यालसहित कार्यकारी निर्देशक अमरध्वज लामा, नायव कार्यकारी निर्देशकहरू खगेन्द्र खत्री, चन्द्रभुषण लाल दास र कृष्णचन्द्र पौडेल एवं रेडियो नेपालका विभिन्न महाशाखा, शाखाका प्रमुख तथा खुमलटारस्थित रिले स्टेसनका कर्मचारीहरूले एक सय वटाभन्दा बढी बिरुवा रोप्नुभएको स्टेशन प्रमुख उपनिर्देशक सच्चिदानन्द यादवले जानकारी दिनुभयो ।

सोही अवसरमा सञ्चार सचिव राधिका अर्यालले रेडियो नेपालको खुमलटारस्थित जग्गाको समेत अवलोकन निरीक्षण गर्नुभयो । उहाँले रेडियो नेपालको विकास र विस्तारका लागि मन्त्रालय आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको पनि बताउनुभयो ।

त्यस अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामासहित रेडियो नेपालका उच्च पदस्थ अधिकारीहरुले सञ्चार सचिव अर्याललाई रेडियो नेपालको नाममा रहेको सो जग्गाको उपयोग गर्ने योजनाबारे जानकारी गराउनुभयो ।

तस्बिर : रोम थापा

भिडियोको लागि तलको लिङ्क क्लिक गर्नुहोला ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button